देउवा-ओली भेट : बैठक बिना निष्कर्ष टुङ्गियो, एमालेको अडान कायमै

काठमाडौं । एमसीसीका बारेमा नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीचको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा बसेको नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीचको बैठक ठोस निष्कर्ष बिना सकिएको हो ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी प्रस्तावलाई संसदबाट पास गराउन राखेको प्रस्तावमा नेकपा एमालेले १४ जना सांसदको कारबाहीको मागमा निष्कर्ष थप निर्णय गर्न नसकिने बताएको बैठक सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
बालुवाटारको बैठकमा बस्नु अघि दुई पार्टीको बैठक अपराह्न संघिय संसद् भवनमा पनि बसेको थियो । एमसीसी पारित गर्ने विषयमा सत्तारुढ गठबन्धनमा कांग्रेस बाहेकका मुख्य घटक दलहरू माओबादी केन्द्र र नेकपा समाजवादीले विपक्षमा उभिने भएपछि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलको साथ खोजेका छन् ।
संसद् भवनमा भएको बैठक पछि बाहिरिने क्रममा नेताहरुले नेपाली कांग्रेससँगको छलफल सकारात्मकरुपमा अघि बढेको बताएका थिए । तर बालुवाटारको बैठकमा नेकपा एमालेले पुरानो माग नै राखे पछि निष्कर्षमा पुगेन् । यद्यपि अर्को बैठक पुन बालुवाटारमा बस्ने समझदारी बनेको बताइएको छ ।
आजको बैठकमा नेपाली कांग्रेसको तर्फबाट पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी थिए, भने नेकपा एमालेको तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ रहेका थिए ।

प्रतिक्रिया