शुक्रबार, जेठ ३, २०८२

डेल्टाक्रोन कति खतरनाक ?

नेपालखोज २०७८ फागुन १३ गते ९:१३

लन्डन । कोरोनाको डेल्टा भेरियन्ट संसारभर सबैभन्दा ज्यानमारा साबित भएको थियो भने ओमिक्रोन भेरियन्टमा तीव्र गतिमा फैलने क्षमता छ । यस्तोमा डेल्टाक्रोन भेरियन्टलाई लिएर अनेकौं आशंका तथा प्रश्न छन् । अहिले डेल्टाक्रोनलाई डेल्टा र ओमिक्रोनको मिश्रित रूप बताइँदै छ । सुरुमा डेल्टाक्रोन यथार्थमा नभएको र यो मेडिकल ल्याबमा भएको प्राविधिक त्रुटिका कारण देखिएको बताइए पनि अहिले यसको पुष्टि भइसकेको छ कि यो प्राविधिक त्रुटिका कारण देखिएको समस्या मात्र होइन । डेल्टाक्रोन भेरियन्ट सबैभन्दा पहिले साइप्रसका शोधकर्ताहरुले पत्ता लगाएका थिए । अहिले ब्रिटेनमा डेल्टाक्रोनका बिरामी फेला परेर यसको पुष्टि भइसकेको छ । लन्डनबाट प्रकाशित हुने डेली मेलका अनुसार, डेल्टाक्रोन एकजना यस्ता रोगीमा विकसित भयो जो एकसाथ कोभिडको दुई भेरियन्ट डेल्टा र ओमिक्रोनबाट संक्रमित भएका थिए ।

डेल्टाक्रोनको संक्रामक क्षमता कति ?
डेल्टाक्रोनका लक्षण तथा यसको संक्रामक क्षमता जस्ता कुरामा त्यति जानकारी बाहिर आइसकेको छैन । ब्रिटेनका स्वास्थ्य सुरक्षा एजेन्सीहरु यसमा गहिरो अनुसन्धान गरिरहेका छन् । मिडिया रिपोर्टहरुमा के दाबी पनि गरिएको छ भने यसबाट डराउनु, आत्तिनु वा चिन्ता लिनुपर्ने कुनै कुरा छैन किनभने डेल्टाक्रोनका बिरामी निकै कम संख्यामा छन् ।

बेलायतभन्दा पहिले साइप्रसमा जनवरीको सुरुतिरै डेल्टाक्रोनका बिरामी देखापरेका थिए । डेली मेलसँगको कुराकानीमा ब्रिटेनका डा. पल हन्टरले भनेका छन्- ब्रिटेनका अधिकांश मानिसले कोरोनाविरुद्धको भ्याक्सिन र बुस्टर डोज लगाइसकेका छन् । उनीहरुमा पहिलेदेखि नै डेल्टा र ओमिक्रोन भेरियन्टविरुद्ध इम्युनिटी विकसित भइसकेको छ । यस आधारमा डेल्टाक्रोनबाट बढी खतरा देखिँदैन । साधारण रुपमा हेर्दा डेल्टाक्रोन फैलने सम्भावना निकै कम छ, किनभने अहिले कोरोनाविरुद्धको सचेतता निकै बढेको छ भने सबै देशमा सुरक्षाका उपाय र तयारी पनि राम्रै छ ।

ओमिक्रोनक‍ो जोखिम कम गर्नका लागि लगाइएको हवाई प्रतिबन्धका कारण पनि कोरोनाको यो नयाँ भेरियन्ट त्यति प्रसारित हुन पाएन । यदि यो डेल्टाक्रोन भेरियन्ट अन्य देशमा पुगेको भए यसका बिरामीहरु फेला परिसक्ने थिए तर त्यस्तो देखिएको छैन । यद्यपि डब्ल्यूएचओले के चेतावनी दिइरहेको छ भने कोरोनाविरुद्धको सावधानी र खोप अभियानको निरन्तरता दुवै उत्तिकै आवश्यक छन् । किनभने स्वास्थ विज्ञहरुले तीन महिनाभित्र कोरोनाको नयाँ लहर सुरु हुनसक्ने आशंका व्यक्त गर्दै आएका छन् ।

प्रतिक्रिया