आफ्नै जोडमा गठबन्धन बनेकाले माओवादीले जोगाउन अन्तिम प्रयास गर्ने

नेपालखोज २०७८ फागुन १३ गते १३:३७

काठमाडाैं । नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको छ। प्रचण्ड निवास खुमलटारमा आज बसेको पूर्वस्थायी कमिटी सदस्यहरुको बैठकले गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको हो ।

सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच सहमति हुने करिब निश्चित भएपछि प्रचण्ड माधव नेपालसँग छलफल गरेर थप रणनीति बनाउने तयारीमा छन् । पार्टी कार्यक्रममा धनगढी पुगेका माधव नेपाल प्रचण्डको टेलिफोनपछि काठमाडौं फर्किएका छन् ।

संसद बैठकमा एमसीसी टेबलसँगै नेपाली कांग्रेस एमसीसी अनुमोदनको पक्षमा छ । एमसीसीको विपक्षमा उभिएका कारण सत्ता गठबन्धनका घटकहरू माओवादी र नेकपा एसलाई सरकार छाड्न दबाब परेको छ ।

बैठकले एमसीसीका सम्बन्धमा पार्टीले लिँदै आएको अडानलाई यथावत राख्ने निर्णय गरेको छ । बैठकबारे प्रचण्डको सचिवालयले भन्यो, ‘पार्टीको अडानलाई कायम राख्दै गठबन्धनलाई निरन्तरता दिनसक्दासम्म निरन्तरता दिने निर्णय भएको छ ।’

खुमलटारमा भएको पार्टीको निर्णयबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी दिन अध्यक्ष प्रचण्डलाई एक नेतालाई बालुवाटार पठाउन लागेका छन् । बैठकपछि नेकपा माओवादी केन्द्रकै पहलमा गठबन्धन बनेकाले सकेसम्म गठबन्धन जोगाउन पर्छ भन्ने निचोड निस्किएको छ ।

प्रतिक्रिया