स्थानीय तह निर्वाचन : शुक्रबारसम्म ४० वटा दल दर्ता

नेपालखोज २०७८ फागुन १३ गते १६:५३

काठमाडौं । नेकपा (एमाले)ले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । आज काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयका पुगेर एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन निवेदन दिएको हो ।

निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार निर्वाचन आयोगमा पुगेर स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिएको एमाले महासचिव पोखरेलले जानकारी दिए । उनले आफ्नो पार्टी निर्वाचनको तयारीमा जुटिसकेको उल्लेख गर्दै अन्य राजनीतिक दलहरुलाई पनि निर्वाचनको प्रक्रियामा सामेल हुन आह्वान गरे ।

यसैबीच, निर्वाचन आयोगले आज दिउँसोसम्म स्थानीय तह निर्वाचन प्रयोजनका लागि ४० वटा दलले दर्ताका लागि निवेदन दिएको बताएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो निर्वाचन प्रयोजनका लागि हालसम्म ४० वटा दलले दल दर्ता गराएको बताए । उनले हाल निर्वाचन आयोगमा १०९ वटा दल दर्ता भएको र यही फागुन १५ गतेभित्र आयोगमा दर्ता भएको दलहरुले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सक्ने कानुनी व्यवस्था भएको पनि स्पष्ट पारे ।

प्रवक्ता शर्माले आयोगले स्थानीय तह निर्वाचनको कामलाई तीव्रताका साथ अघि बढाएको बताए । सरकारले स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गतेका लागि घोषणा गरेको छ । निर्वाचनको सोही मितिलाई मध्यनजर राखेर तयारीको कामलाई अघि बढाएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया