प्रधानमन्त्रीलाई भेटेपछि पार्टीका शीर्ष नेतासँगको छलफलमा माधव, एमसीसीबारे के गर्लान् ?

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट लगत्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आन्तरिक छलफलमा जुटेका छन् । अध्यक्ष नेपाल एमसीसीका विषयमा शीर्ष नेताहरूसँग अनौपचारिक छलफलमा जुटेका हुन् ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफल चलिरहेको छ । एकीकृत समाजवादीले संसद्मा एमसीसीको विपक्षमा उभिने बताउँदै आएको छ । शुक्रबार बिहान धनगढीबाट काठमाडौं आएलगत्तै अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर छलफल गरे । बालुवाटारबाट फर्केपछि नेपालले आफ्नै पार्टीका शीर्ष नेताहरूसँग छलफल थाले । प्रधानमन्त्री देउवाले एमालेको समर्थनमा भएपनि एमसीसी संसदबाट अनुमोदन गर्ने प्रयास गरेका छन् ।
एकीकृत समाजवादी र माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिँदा सत्तारुढ गठबन्धन टुट्ने खतरा बढेको छ । एमसीसीको विपक्षमा उभिने एकीकृत समाजवादीको निर्णयलाई पुनर्विचार गर्न कांग्रेसले आग्रह गरेको छ । अध्यक्ष नेपालले देउवासँग छलफल सकेर आफ्नै पार्टीका शीर्ष नेतासँग छलफल गरिरहेका हुन् ।
माधव नेपाल कता उभिने भन्ने दाेधारमा छन् । पक्षमा उभिए पार्टीका शीर्ष नेता सन्तुष्ट हुँदैनन् । विपक्षमा उभिए मन्त्रीहरुले नै पार्टी छाड्ने खतरा छ । समाजवादीबाट मन्त्री बनेकाले प्रधानमन्त्रीकाे साथमा उभिने बताउँदै आएका छन् ।

प्रतिक्रिया