‘छिमेकी राष्ट्रहरुलाई रुष्ट बनाए युक्रेनको जस्तो दुर्भाग्य नेपालले पनि खेप्न पर्न सक्छ’

नेपालखोज २०७८ फागुन १३ गते १७:५७

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफू प्रधानमन्त्री हुँदा एमसीसी चाहियो भनेर अमेरिकालाई पत्र नलेखेको दाबी गरेका छन् । आज नेकपा एससम्बद्ध जनसंगठनद्वारा आयोजित एमसीसीविरुद्धको खबरदारी सभामा बोल्दै नेता खनालले यस्तो बताएका हुन् ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै अहिले प्रतिगामी शक्तिहरुले एमसीसी चाहियो भनेर झलनाथ खनालले भनेको आरोप लगाइरहेको भन्दै त्यो सरासर झुटो भएको बताए । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले आज पोखरामा आयोजित एक सभालाई सम्बोधन गर्दै झलनाथ खनालको प्रधानमन्त्री कार्यकालमा एमसीसी चाहियो भनेर पत्र लेखिएको बताए ।

नेता खनालले आफ्नो कार्यकालमा एमसीसीसँग कुनै कुरामा पत्र लेखेको डकुमेण्टहरु लिएर आउन पनि चुनौति दिए । उनले एमसीसीलाई पत्र लेख्ने कुरा डा. बाबुराम भट्टराई प्रधानमन्त्री बनेदेखि सुरु भएको र यो कुरा दिउँसोको घाम जत्तिकै छर्लङ्ग रहेको उनले बताए । नेता खनालले अहिले देशमा अर्कोले गल्ती गर्‍यो म पनि गल्ती गर्छु भन्ने ढंगले राष्ट्रघाती कदमहरु चालिएको समेत आरोप लगाए ।

नेता खनालले छिमेकी राष्ट्रलाई रुष्ट बनाएर टाढाको मुलुकलाई रिजाउन खोजे त्यो भन्दा ठूलो दुर्भाग्य नेपालका लागि अरु कुनै नहुने दाबी गरे । उनले छिमेकी राष्ट्रहरुलाई रुष्ट बनाउँदा युक्रेनको जस्तो दुर्भाग्य नेपालले पनि खेप्नु पर्न सक्ने बताए ।

उनले छिमेकी देश चीन र भारतका विरुद्ध नेपालमा कुनै पनि गतिविधि भए नेपालको अस्तित्वमाथि खतरा पैदा हुने भन्दै चिन्ता व्यक्त गरे । नेता खनालले अमेरिकाको दादागिरीको युग सकिएको भन्दै बिना संशोधनको एमसीसी नेपाललाई नचाहिने बताए ।

प्रतिक्रिया