ओलीको हुँकार- आगामी चुनावमा गठबन्धनलाई सात दिन उठ्नै नसक्ने गरी पछार्छु

नेपालखोज २०७८ फागुन १३ गते १९:०६

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनलाई सात दिन उठनै नसक्नेगरी पछार्ने चेतावनी दिएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले ‘गठबन्धनमा सहमति, एमसीसी पास हुने, गठबन्धन पनि नटुट्ने’ समाचार आएको उल्लेख गर्दै उनीहरुलाई एकमुष्टरुपमा उठनै नसक्नेगरी पछार्ने बताएका हुन् ।

आज पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले सत्तारुढ गठबन्धन आगामी निर्वाचनमा धुलोपिठो हुने भयले पनि नटुटने तर्क गरे । एमालेले गठबन्धन दलहरुसँग वान बाई वान लडनु भन्दा एकमुष्ट लड्न चाहेको उल्लेख गर्दै अध्यक्ष ओलीले पाँच वटै दललाई एकमुष्टरुपमा चुनावमा लडन चुनौति दिए । उनले आफ्नो दल जनताको पवित्र मतबाट विजयी हुने दाबी समेत गरे ।

अध्यक्ष ओलीले एमसीसी पास गर्नका लागि पर्याप्त मत सरकारसँग रहेको बताए । एक सय ६५ भोट सरकारसँग छ, एमसीसी पास गर्न कस्ले रोकेको छ ? उनको सत्तारुढ दलप्रति प्रश्न थियो । ओलीले एमसीसीप्रति संकेत गर्दै आफ्नो पार्टीले देश र जनताको हितभन्दा बाहिर गएर कुनै पनि निर्णय नलिने स्पष्ट पारे ।

उनले पुतलीको कथा उर्धृत गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीबारे दोहोरो चरित्र देखाईरहेको आरोप लगाए । कार्यक्रमा विभिन्न दलबाट एमालेमा प्रवेश गर्ने दर्जनौ कार्यकतालाई अध्यक्ष ओलीले स्वागत गरेका थिए।

प्रतिक्रिया