दुईवटा रुसी सैनिक विमानलाई खसाइदिएको युक्रेनको दाबी

मस्को । रुसले युक्रेनमा आज (शनिवार) तेस्रो दिन आक्रमण जारी राखेको छ । युक्रेनको राजधानी किएभको ठाउँठाउँमा विस्फोट गराएको छ । राजधानी किएभको मैदान स्क्वाएरनजिकै एउटा शक्तिशाली विस्फोट भएको छ । ट्रोइयस्चना क्षेत्रमा एउटाभन्दा बढी विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
राजधानी सहरको चिडियाखाना र सुलियाभ्कानजिकै अवस्थित एउटा क्षेत्रबाट ५० वटाभन्दा बढी विस्फोट भएका छन् । रुसी सेनाले मेशीनगनबाट गोली प्रहार गरिरहेको छ ।
राजधानी किएभमा अहिले विभिन्न दिशाबाट आक्रमण भइरहेको छ । ट्रोइयस्चना जिल्लाको सीएचपी–सिक्स ऊर्जा केन्द्रनजिकै लडाइँ भइरहेको युक्रेनी सेनाले जनाएको छ ।
सहरमा विद्युत् आपूर्ति बन्द गरिदिने उद्देश्यले उक्त आक्रमण गरिएको हुनसक्ने ठानिएको छ । पिरिमोही एभिन्यूमा क्षतिग्रस्त गाडीसँग आगो बलिरहेका दृश्यहरू देखिएका छन्। युक्रेनका राष्ट्रपतिले आफू किएभमा नै रहेको बताएका छन् ।
शनिबार युक्रेनको सबै मुख्य शहरहरुमा विस्फोट भएका छन् । युक्रेनले ३ सय रुसी सेना बोकेको दुईवटा विमानलाई खसाएको दाबी गरेको छ । यता, रुसी सैनिकले किभको विमानस्थलमा कब्जा गरिसकेको दाबी गरेको खवर सार्वजनिक भएको छ ।
भ्यासीलकिभनजिकै रहेको एउटा हवाईअड्डामा पनि भीषण संघर्ष भएको विवरण आएको छ । युक्रेनी सैनिकहरूले रुसीहरूलाई ब्ल्याक सीमा अवस्थित मिकोलिएभ सहरबाट पछाडि धकेलिदिएको दाबी गरेका छन्।
युक्रेनी सेनाले आफ्नो फेसबुक पेजमा शनिवार किएभस्थित सैनिक अड्डाले रुसी फौजको आक्रमणको प्रतिरोध गरेको दाबी गरेको छ । – बीबीसीलगायत विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यम
प्रतिक्रिया