हालसम्म १४ हजार बढी सुकुम्बासीलाई लालपुर्जा

काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सुनसरीको भोटेकोशी गाउँपालिकामा रहेको गाउँब्लकका २८ घर परिवारलाई लालपुर्जा वितरण गरेकी छन् । मन्त्री श्रेष्ठले सुनसरीको कोशी गाउँपालिकामा शुक्रबार आयोजित एक कार्यक्रमा जग्गाधनी प्रमाण पुुर्जा वितरण गर्दै अब जिल्लाका सबै गाउँब्लकमा लालपुर्जा वितरण प्रक्रिया अघि बढाइएको बताइन् ।
मन्त्री श्रेष्ठले गाउँब्लकको जग्गा धनी प्रमाण पुर्जा वितरण अभियानमा भूमि भएर पनि भूमि विहिन बनीरहेकाहरु कोही पनि छुट्न नहुनेमा जोड दिइन् । उनले लालपुर्जा नहुँदा नागरिकता समेत नपाई राज्यबाट प्राप्त गर्ने अधिकार प्राप्त गर्न नसकिरहेको अवस्था समाधान गर्न लालपुर्जा पाएपछि सहज हुने विश्वास समेत व्यक्त गरिन् ।
मन्त्री श्रेष्ठले संविधानमा भएको व्यवस्था अनुसार भूमिहिन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थीत बसोवासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगको २८ वटा जिल्ला आयोग समेत गठन गरेर त्यसलाई पूूर्णता दिने काममा आफु लागिरहेको पनि बताइन् । मन्त्री श्रेष्ठले मन्त्रालय संहालेपछि प्रविधिको प्रयोगमा जोड दिएको, नक्साको मुल्य घटाउन लागिएको, जग्गाको लेखापढिमा जथाभावी रुपमा रकम लिने पद्धती रोक्न काम शुरु गरेको र मुक्त हलीया, कमलरी, कमैयाको बस्तविकता अध्ययन गर्न गरि समस्या समाधान गर्न काम शुरु गरेको पनि बताइन् ।
उनले हरुवा चरुवाको रोजगारीको हकको कार्यान्वयनका लागि युवा तथा उनीहरुका सन्तानलाई विशेष नापीको तालिम दिएर रोजगारी दिलाउने प्रक्रिया समेत अगाडी बढाइसकेको जानकारी दिइन् । तल्ला तहका नागरिक र वाास्तविक पिडितको आवश्यकता र आवाज सम्बोधन गर्नुपर्छ भनेर छिटो काम गर्न लामा र झन्झटीला प्रक्रिया छोट्याएर छिटो भन्दा छिटो काम गर्न लागेको पनि उनले बताईन् ।
मन्त्री श्रेष्ठले मन्त्रालय संहालेपछि हालसम्म गाउँब्लकका १४ हजार भन्दाबढी घरपरिवारलाई लालपूर्जा वितरण गरिएको छ । २०२१ साल यता जग्गाको नापी हुँदा गाउँब्लकका रुपमा राखिएका र जग्गा भएर पनि लालपूर्जा विहिन बनिरहेकाहरुलाई लालपुुर्जा वितरण अभियान तीव्र पारिएको छ ।

प्रतिक्रिया