ओलीलाई भेट्न बालकोट पुगे देउवा, वार्ता निर्णायक र अर्थपूर्ण हुने

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । प्रधानमन्त्री देउवा केही समयअघि अध्यक्ष ओलीलाई भेट्न बालकोट गएका हुन् ।
माओवादीको लिखित निर्णय आउन ढिला भएपछि देउवाले आजै साँझ बालकोट आउने जानकारी ओलीलाई गराएका थिए । एमाले र कांग्रेसका दोस्रो तहका नेताहरुबीच बालकोटमै छलफल हुने समेत बताइएको छ । बिहीबार र शुक्रबार लगातार लामो छलफल गरेका दुई पार्टीबीचको आजको वार्तालाई निर्णायक र अर्थपूर्ण मानिएको छ ।
माओवादी केन्द्रले एमसीसी पारित गर्न सघाउने र गठबन्धन जोगाउने मध्यमार्गी विकल्प खोज्ने भने पनि प्रधानमन्त्री विश्वस्त हुन नसकेको र माओवादीलाई साथमा लिएर हिड्दा अन्तर्राष्ट्रिय समुदायसमेत कांग्रेसप्रति सकारात्मक नहुने देखिएपछि देउवाले एमालेसँगै सहमतिमा जोड दिएका हुन् । यद्यपी एमालेका नेताहरु गठबन्धन भत्किने अवस्थामा प्रचण्ड- माधवले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय देउवालाई बुझाउने आँकलन गरिरहेका छन् । त्यसैले अहिलेको वार्ता एमालेको भन्दा पनि कांग्रेसको रुचीमा भइरहेको उनीहरुको भनाइ छ ।
आजै कांग्रेस र एमालेबीच कुनै लिखित सहमति हुनेबारेमा दुवै पक्षका नेताले प्रष्ट बताएका छैनन् । तर शुक्रवार राति नै एकखालको समझदारी भएको र त्यसको फाइनल टच आज हुने नेताहरुको भनाइ छ । अमेरिकीहरुले पनि एमाले र कांग्रेस मिल्दा नेपालको ७० प्रतिशत जनमतको प्रतिनिधित्व हुने भएकाले गठबन्धन भत्काएर एमालेसँग एकल प्रतिस्पर्धामा जान देउवालाई सुझाव दिएको नेताहरु बताउँछन् ।
प्रधानमन्त्री देउवासँगै सञ्चारमन्त्री कार्की, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा पनि बालकोटमा छन् ।

प्रतिक्रिया