एमसीसीको विषय पर्यटन क्षेत्रमा पनि प्रवेश

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) को विषय पर्यटन क्षेत्रमा पनि प्रवेश गरेको छ । नेपाल ट्रेकिङ ट्राभल्स र्याफ्टिङ, एयरलाइन्स, साँस्कृतिक, पुरातात्विक कार्गाे, कुरीयर श्रमिक यूनियन यूनिट्राभको १३औँ राष्ट्रिय अधिवेशनमा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले एमसीसीका कारण देश नै द्धन्दमा जान सक्नेतर्फ बेलैमा सचेत बनेर राजनीतिक नेतृत्वले उचित निर्णय लिनुपर्ने बताएका छन् ।
उनले मुलुुकलाई भड्काउन लागि परेकाहरुप्रति सचेत बन्दै सार्वभौमिकता रक्षा, विकास एवं समृद्धिमा लाग्नुपर्ने बताए । त्यस्तै उपाध्यक्ष रिजालले पर्यटन क्षेत्रमा सामाजिक सुरक्षा कार्यक्रम लागु नगर्ने शामन्ती प्रवृति हटाउनुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा नेपाल ट्रेड यूनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठले योगदानमा आधारित सामाजिक सुरक्षामा ४५ अर्ब रुपैयाँ जम्मा भएको र त्यसप्रति सरकारले गिद्धेनजर लगाइरहेको भन्ने विषय बाहिरिएको भन्दै श्रमिकको पसिनामाथि आँखा नलगाउन चेतावनी दिए ।
उनले श्रमिकलाई प्रविधिमैत्री बनाएर अगाडि बढ्न जि-फन्टले जि-फन्ट एप्स लञ्च गर्ने तयारी गरिरहेको र एप्समार्फत सबै श्रमिकको समस्या देशका जुनसुकै स्थानबाट समाधान गरिने बताए । कार्यक्रममा यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले दुई वर्षदेखि कोभिड पीडित बनेका पर्यटन श्रमिकलाई राज्यले नहेरेकोमा दुखेसो व्यक्त गरे । जलवायु परिवर्तनका कारण पर्यटन क्षेत्रमा रोजगारीसहित अन्य क्षेत्रमा चुनौति थपिएको भन्दै सामाजिक सुरक्षामा सबै श्रमिकलाई लैजाने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया