एमसीसीबारे माओवादी-एस घनिभूत छलफल, प्रचण्ड र झलनाथले के भने ?

काठमाडाैं । सत्तारुढ गठबन्धन नटुट्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दाबी गरेका छन् । सत्तारुढ दोस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष दाहालले एमसीसी पारित हुने र सत्तारुढ गठबन्धन पनि नटुट्ने उपायको खोजीमा छलफल भइरहेको बताए ।
शनिबार सिंहदरवारमा आफ्नो पार्टी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग भएको छलफलपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले एमसीसीबारे सहमतीकै बाटोबाट अघि बढने संक्षिप्त प्रतिक्रिया दिए । अध्यक्ष दाहालले भने, ‘हामी छलफल गरिराखेका छौं । समस्याको समाधान हुन्छ । गठबन्धन टुट्दैन । सहमतीको बाटोबाटै अघि बढछ ।’
अध्यक्ष दाहालले सत्तारुढ गठबन्धन टुटाउन बिभिन्न प्रयास भइरहेको बताउँदै आएका छन् । यसैबीच, सत्तारुढ नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले यथास्थितिमा एमसीसी संसदबाट पारित नहुने दावी गरे ।
खनालले सरकार छोड्ने विषयमा पार्टी भित्र कुनै छलफल नभएको पनि बताए । माओवादी केन्द्रका शिर्ष नेताहरुसँग छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमसीसीको मुद्दा कसरी टुंगिन्छ, सरकार छोडने वा नछोडने भन्ने विषय पनि त्यसैमा निर्भर रहने बताए । खनालले एमसीसी पारित गराउने र सत्तारुढ गठबन्धन पनि टुट्न नदिने मध्यमार्गी बाटोबारे आफू अनविज्ञ रहेको प्रतिक्रिया दिए ।
उनले सो बाटोको बारेमा कुन–कुन नेताबीच छलफल भएको हो भन्ने पनि आफूलाई थाहा नभएको बताए । खनालले भने, ‘एमसीसी यथास्थितिमा पास हुँदैन । हाम्रो अडान यो हो । यही अडानमा अहिले पनि हामी दृढतापूर्वक उभिएका छौं । सरकार छोडने बारेमा केही कुरा गरेका छैनौं । अव एमसीसीको मुद्धा कसरी टुंगिन्छ ? त्यसले धेरै कुराहरु निर्णय गर्छ । त्यसो हुनाले एमसीसीको मुद्धा अहिले पनि जारी छ । अहिले हामी पुरानै ग्राउण्डमा छौं । पत्रपत्रिका छापिएको कुरा मैले पनि पढे । अव कसकसले त्यो खोजेको हो ? त्यो खोजेको कुरा हामीसँग आईसकेको छैन, के के हुन मध्यमार्ग भनेर त्यो मध्यमार्गको कुरा हामीलाई थाहा हुँदैन । तर, दुईटा मार्ग छन । एम वा नो को मार्ग । हामी यथास्थितिमा नो भन्छौं । राष्ट्रको हितमा हुने गरी संशोधन गरिए एस भन्ने पक्षमा छौं ।’
खनालले राष्ट्रिय हित अनुकूल हुने गरी एमसीसी सम्झौता परिमार्जन भएमात्रै आफूहरुले त्यसलाई संसद्बाट पारित गराउन साथ दिन सक्ने स्पष्ट पारे ।

प्रतिक्रिया