आइतबार, जेठ ६, २०८१

धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक : स्तरोन्नति गरिँदै

नेपालखोज २०८० फागुन ३ गते ८:३५

खोटाङ । बराहपोखरी गाउँपालिकाबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नतिलाई अगाडि बढाइएको छ । सङ्घीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिकाको क्रमागत योजनाअन्तर्गत उक्त सडकलाई दुईखण्डमा विभाजन गरेर स्तरोन्नति थालिएको हो ।

प्रदेश सरकार र गाउँपालिकाको ५०-५० प्रतिशत लागत साझेदारीमा धाप्लाङघाटदेखि बिचशङ्खे–खाकरगैरा तथा चेकेथुमखण्डको सडक स्तरोन्नतिको काम सुरु गरिएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताउनुभयो । बराहपोखरी गाउँपालिका–२ सुन्तलेमा पर्ने दुवै सडकखण्डमा ग्याविन (तारजाली प्रयोग गरेर निर्माण गरिने पर्खाल), मेसिनरी वाल (सिमेन्ट, बालुवा र ढुङ्गा प्रयोग गरेर निर्माण गरिने पर्खाल), ड्रेन निर्माण, आरसिसी ढलान, ग्राभेल, माटो फिलिङलगायतका काम भइरहेको छ ।

धाप्लाङघाटदेखि बिचशङ्खे–खाकरगैरासम्मको सडक स्तरोन्नति गर्न ६२ प्रतिशत सम्पन्न भइसकेको गाउँपालिकाले जनाएको छ । विसं २०८१ वैशाख मसान्तसम्ममा सक्नेगरी उक्त ठेकेदार कम्पनीले गत पुस ८ गते सडक स्तरोन्नतिको ठेक्का सम्झौता गरेको थियो ।

मूल्य अभिवृद्धि करसहित एक करोड ७२ लाख ४१ हजार २४४ मा कार्यदेश लिएको ठेकेदार कम्पनीले रनिङ बिलमार्फत गत माघ–१५ गते एक करोड छ लाख ९७ हजार ६२३ भुक्तानी लिइसकेको गाउँपालिकाका सूचना अधिकारी प्रशासन सहायक रमेश पोखरेलले जानकारी दिएका छन् । सो सडकखण्डमा दुई हजार पाँच सय आठ घनमिटर माटो कटिङ, ४३ दशमलव ३८ घनमिटर ब्रेकर, ३१३ दशमलव २३ घनमिटर ढुङ्गा सोलिङ, छ सय ८४ घनमिटर ग्याविन वाल, एक सय ६० मिटर ढलानलगायतका काम गर्ने सम्झौतामा उल्लेख छ ।

ढलानको काम भइरहेको यो सडकखण्ड यही फागुन मसान्तभित्र सम्पन्न गर्नेगरी कामलाई तीव्रता दिइएको स्थानीयस्तरमा निर्माणको जिम्मा लिएको सुन्तले कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालि बराहपोखरीका प्रबन्ध निर्देशक कृष्णप्रसाद बञ्जराले जानकारी दिए । ‘ढलानको काम तीन दिनभित्रमा सम्पन्न हुन्छ । ग्राभेल ५४ घरटिरमात्र बाँकी छ । ६६४ दशमलव १५ घनटिर वालको काम गर्नपुर्नेमा ३० घनमिटर बाँकी छ । करिब ७० जना कामदार छन्’, उनले भने, ‘समग्रमा ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । फिनिसिङको काम सम्पन्न गरेर यही फागुन मसान्तभित्र फरफारक गर्ने योजनामा छौँ ।’

प्रतिक्रिया