प्रतिनिधिसभा बैठक आइतबार बस्दै, एमसीसीमाथि छलफल हुने

नेपालखोज २०७८ फागुन १४ गते १८:५६

काठमाडौं । प्रतिनिधि सभाको बैठक आइतबार बस्ने भएको छ । भोलि बस्ने बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची छ । यसअघि बिहीबारका लागि डाकिएको बैठक अन्तिम समयमा आएर सरकारको आग्रहमा शुक्रबारलाई सारिएको थियो । शुक्रबार पनि गठबन्धनबीच एमसीसीका विषयमा कुरा नमिलेपछि बैठक आइतबारसम्मका लागि सारिएको हो । बैठक आइतबार दिउँसो १ बजे बस्नेछ ।

संघीय संसद सचिवालयले जारी गरेको कार्यसूचीमा एमसीसी सम्झौताबारे छलफल अघि बढाउने उल्लेख छ । त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने पहिलो कार्यसूची रहेको छ भने दोश्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकारबीचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची तोकिएको छ ।

भोलि बस्ने प्रतिनिधिसभाको बैठकअघि सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

प्रतिक्रिया