महाशिवरात्रिमा बेलपत्रको महत्त्व

महाशिवरात्रिको पावन अवसरमा शिव भक्तहरु भगवान् शिवको विधिपूर्वक पूजाअर्चना गर्दै उनलाई बेलपत्र चढाउँछन् । बेलपत्रबिना भगवान् शिवको पूजा अधुरो मानिन्छ । धार्मिक मान्यताअनुसार, बेलपत्र चढाउँदा शिवजी प्रसन्न हुन्छन किनभने यसका कारण उनको मस्तक शीतल रहन्छ । बेलपत्र चढाउने विधि, मन्त्र तथा यसबाट हुने लाभका बारेमा केही जानकारी लिउँ :
-सबैभन्दा पहिले भगवान शिवको स्मरण गर्दै बेलपत्र टिप्नुहोस् । शिवजीलाई चढाइने बेलपत्र मा तीनवटा (तीनपाते) पत्ता हुनुपर्छ । शिवजीलाई तीनपाते बेलपत्र नै चढाउनुपर्छ । बेलपत्र टिपेपछि बेलको रुखलाई नमस्कार गर्नुपर्छ ।
-बेलपत्र काटिएको, सडेको हुनु हुँदैन । यदि बेलपत्र छैन भने शिवलिंगमा चढाइएको बेलपत्र सफा गरेर फेरि चढाउन सकिने बताइन्छ किनभने बेलपत्र कहिल्यै अशुद्ध हुँदैन भन्ने मान्यता छ ।
- सोमबार, अमावस्या, शिवरात्रि, चतुर्थी, अष्टमी, नवमी तिथि तथा संक्रान्तिका दिन बेलपत्र टिप्नु हुँदैन । यसो गर्दा दोष लाग्ने मान्यता छ ।
-बेलपत्र अर्पित गर्दा त्यसको चिल्लो सतहले शिवलिंगलाई स्पर्श गरेको हुनुपर्छ । यसरी चढाइने बेलपत्रमा चक्र तथा वज्र हुनु हुँदैन । - शिवजीलाई तीनदेखि एघारवटा बेलपत्र चढाउन सकिन्छ । विशेष मनोकामना पूर्तिका लागि चन्दनले बेलपत्रमा जय श्रीराम लेखेर अर्पित गर्नुपर्छ ।
बेलपत्र अर्पित गर्ने मन्त्र
नमो बिल्ल्मिने च कवचिने च नमो वर्म्मिणे च वरूथिने च नमः श्रुताय च श्रुतसेनाय च नमो दुन्दुब्भ्याय चा हनन्न्याय च नमो घृश्णवे॥
दर्शनं बिल्वपत्रस्य स्पर्शनम् पापनाशनम्।
अघोर पाप संहारं बिल्व पत्रं शिवार्पणम्।।
त्रिदलं त्रिगुणाकारं त्रिनेत्रं च त्रिधायुधम्।
त्रिजन्मपापसंहारं बिल्वपत्रं शिवार्पणम्॥
अखण्डै बिल्वपत्रैश्च पूजये शिव शंकरम्।
कोटिकन्या महादानं बिल्व पत्रं शिवार्पणम्॥
गृहाण बिल्व पत्राणि सपुश्पाणि महेश्वर।
सुगन्धीनि भवानीश शिवत्वंकुसुम प्रिय॥
यदि यो मन्त्र पढ्न सकिँदैन भने भगवान् शिवको सबैभन्दा सरल मन्त्र ओम नम: शिवाय जप गर्दै शिवलिंगमा बेलपत्र अर्पित गर्न सकिन्छ ।
महाशिवरात्रिमा बेलपत्र चढाउँदा हुने लाभ
धार्मिक मान्यताअनुसार, बेलपत्र चढाउँदा भगवान् शिव अत्यन्त प्रसन्न हुन्छन । शिवको कृपाले दरिद्रता भाग्छ भने सौभाग्य पनि प्राप्त हुन्छ । यसबाट धन धान्य वृद्धि हुनुका साथै संकट दूर हुने विश्वास गरिन्छ । भगवान्लाई बेलपत्र चढाउँदा स्वास्थ राम्रो रहन्छ र मनोकामना पूरा हुन्छ ।
प्रतिक्रिया