‘आजैको प्रतिनिधिसभा बैठकबाट प्रचण्ड र माधव एमसीसी पास गर्न सहमत’

काठमाडाैं । सत्तारुढ गठबन्धनले एमसीसी सम्झौंतालाई व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्ने निर्णय गरेको छ ।आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले संसदमा टेबल भएको एमसीसी सम्झौंतालाई व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्ने निर्णय गरेको हो ।
सम्झौंताको सम्बन्धमा उठेका शंकाहरुको निवारण गर्दै पारित गर्न लागिएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । उनले एमसीसी सम्झौंता इन्डोप्यासिफिक रणनीतिको अंग होईन, सम्झौतामा नेपालको संविधान नै सर्वोपरी हुने तथा विशुद्ध आर्थिक परियोजना मात्रै भएको कुराहरुलाई समेत संलग्न गराई आइतबारकै संसद बैठकबाट पारित हुने बताए । उनले भने – ‘अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कम्प्याक्टलाई व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्न हामी सबै सहमत हुने निर्णय भयो । हाम्रो गठबन्धनको बैठक यसमा सहमती गरेर अगाडी बढ्न आज निर्णय भयो । व्याख्यात्मक टिप्पणीमा जे कुरा शंका उठाइएका थिए तिनलाई क्लियर गर्ने, यो अमेरिकी इन्डोप्यासिफिक रणनीतिको अंग होइन, यो नेपालमा नेपालको संविधान नै सर्वोपरी हुन्छ । यो विशुद्ध आर्थिक सहयोग हाम्रो विकासको लागि विकास सहयोगको रुपमा मात्रै यसलाई हामी बुझ्छौँ । मुख्यकुरा यही कुरा गरेर अब त्यसलाई सदनमा उठेका प्रश्नहरुलाई सरकारले जवाफसहित यो व्याख्यात्मक टिप्पणीको साथै यो सम्झौतालाई सँगसँगै एट्याच गरेर अन्त्यमा प्रस्तुत गर्छ । र अनि सदनले त्यो सहित नै पारित गर्छ । दोस्रो सेसनमा आजै अनुमोदन हुन्छ ।’
वरिष्ठ नेता पौडेलले प्रमुख प्रतिपक्ष दल एमाले सरकारमा रहँदा एमसीसी सम्झौता संसदमा दर्ता भएकाले यसलाई पारित गर्न प्रमुख प्रतिपक्ष दलको पनि सकारात्मक भूमिका हुने बताए । सम्झौतालाई राष्ट्रहितमा गराउने कुरामा कटिबद्ध हुँदै वर्तमान सरकारले यस सम्झौतालाई लागु गराउने उनले बताए । उनले भने, ‘प्रमुख प्रतिपक्षी दलको सकारात्मक भुमिका हुन्छ । किनभने प्रमुख प्रतिपक्षी दल नै संसदबाट यो पास गर्ने र अगाडी बढाउने भनेर निर्णय गर्ने प्रमुख प्रतिपक्षी दलकै नेता प्रधानमन्त्री भएको बेलामा यो अगाडी बढेको हो । त्यसकारण उहाँहरु त यसमा पुर्ण रुपमा बाँधिनु भएको छ । नेपालको पक्षमा जो प्रष्ट गर्नुपर्ने थियो । त्यसलाई प्रष्ट गरेर यो सरकार अगाडी बढ्छ । त्यसकारण उहाँहरुले गरेको भन्दापनि अझ राष्ट्रहितमा यो सन्धीलाई गराउने कुराको कटिबद्धता आफ्नो व्यक्त गर्दै अगाडी बढेर यो सम्झौतालाई लागु गर्छ ।’
प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया