आइतबार, वैशाख १४, २०८२

राष्ट्रिय सहकारी बैंकको नायब महाप्रबन्धकमा खड्का नियुक्त

नेपालखोज २०७८ फागुन १५ गते १५:०५

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको नायव महाप्रबन्धक (डीजीएम) मा मनोज खड्का नियुक्त भएका छन् । बैंकको पदपूर्ति उप–समितिको सिफारिसअनुसार उनलाई बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले फागुन १५ देखि कार्यभार समाल्ने गरी नियुक्त गरेका हुुन् ।

उनलाई आइतबार बैंकको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी बैंकका अध्यक्ष केबी उप्रेतीसहित सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, सहायक महाप्रबन्धक, उच्च व्यवस्थापनका कर्मचारीहरूलगायतको उपस्थितिमा नव–नियुक्त डीजीएम खड्कालाई स्वागत गरी बधाई तथा शुभकामना ज्ञापन गरिएको थियो ।

भक्तपुरको चाँगुनारायण १, दुवाकोटका खड्का २९ वर्षदेखि बैंकिङ क्षेत्रमा अनुभव सँगालेका व्यक्ति हुन् । उनले नबिल बैंक, बैंक अफ् काठमाडौ, प्राईम कमर्सियल बैंक, टुरिजम बैंकलगायतमा उच्च व्यवस्थापनमा रहेर काम गरेका थिए । तत्कालिन समयमा टुरिजम बैंक मर्जपश्चात बनेको मेगा बैंकमा उनी नायव महाप्रवन्धकको रुपमा कार्यरत रहेका थिए ।

व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका खड्काको २९ वर्षे बैंकिङ करियरमा नेतृत्व विकास, व्यवसाय विस्तार, संस्थागत विकास, कर्पोरेट म्यानेजमेन्ट लगायतको क्षेत्रहरूमा विशेष अनुभव छ । कार्यक्रममा बैंकका अध्यक्ष के.बी. उप्रेतीले स्वागत गर्दै यसअघिको बैंकिङ क्षेत्रमा भएको अनुभव र नयाँ योजनका साथ कार्य गरी बैंकको विकास र प्रवर्द्धन हुनेगरी कार्य गर्न सफल कार्यकालको शुभकामना व्यक्त गरेका गरेका छन् ।

स्वागत कार्यक्रममा नवनियुक्त नायब महाप्रबन्धक खड्काले आफ्नो अनुभवलाई राष्ट्रिय सहकारी बैंकको व्यवसाय विस्तार र संस्थागत विकासको क्षेत्रमा लगाउने भन्दै सहकारी बैंकलाई आधुनिक टेक्नोलोजि र डिजिटाइजेशनको क्षेत्रमा विकास गर्ने गरी बैंकिङ क्षेत्रमा आफूले हासिल गरेको अनुभवलाई कार्यान्वयनमा ल्याउने गरी कार्य गर्ने उल्लेख गरे । उनले बैंकप्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरिय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिबद्घता जनाँएका छन् । त्यसैगरी उनले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि आफू साथसाथै सम्पूर्ण कर्मचारीलाई प्रयत्नशील रहन आग्रह गरेका छन् ।

कार्यक्रममा बैंकका अध्यक्ष के.बी.उप्रेती, संञ्चालकहरू सरिता भट्टराई, रामहरी बजगाई, ज्ञानबहादुर तामाङ, पार्वती थापा मगर, केदार मानन्धर, प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाई, सहायक महाप्रबन्धक राजेश श्रेष्ठ, विभागीय प्रमुखहरूलगायत केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीको उपस्थिति थियो ।

प्रतिक्रिया