गृहमन्त्री खाँणद्वारा प्रहरीको प्रशंसा, आन्दोलनमा संयमता अपनाएको प्रतिक्रिया

नेपालखोज २०७८ फागुन १६ गते ९:४९

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी अनुदान सहयोगसम्बन्धी परियोजना सम्झौता(एमसीसी)का विषयसँग जोडेर भएको आन्दोलनमा संयमता अपनाई सुरक्षा व्यवस्था प्रदान गरेकोमा गृह प्रशासन, सुरक्षा निकायका प्रमुख, काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारी र उपत्यकाका सुरक्षा प्रमुखलाई धन्यवाद दिएका छन् ।

गृहमन्त्री खाँणले प्रतिनिधिसभाबाट बहुमतले एमसीसी पास भएपछि गृहसचिव टेकनारायण पाण्डे, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, गृहमन्त्रालयको सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणीन्द्रमणि पोखरेल, काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख अधिकारी क्रमशः गोविन्द रिजाल, घनश्याम उपाध्याय र रुद्रादेवी शर्मा तथा उपत्यकाका सुरक्षा निकायका प्रमुखलाई आइतबार राति टेलिफोन गरेर धन्यवाद दिएका हुन् ।

उनले सुरक्षाकर्मी घाइते हुँदासमेत संयमता अपनाएर सुरक्षा दिने काममा अहोरात्र खटिएकोमा प्रशंसा पनि गरेका छन् । एमसीसीबारे भएको आन्दोलनमा संयमता अपनाएर नागरिकलाई सुरक्षा प्रदान गरेको, आन्दोलनमा आएकाहरू उत्तेजित हुँदासमेत संयम भएर सुरक्षा दिएकोमा धन्यवाद गृहमन्त्री खाँणले धन्यवाद दिएको जनाइएको छ ।

गृहमन्त्री खाँणले आन्दोलनका क्रममा घाइते भएका सुरक्षाकर्मी र आन्दोलनकारीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।

प्रतिक्रिया