बिहीबार, जेठ २, २०८२

रुसमा पश्चिमा देशको प्रतिबन्धको असर

४३ सय रुसी सेना मारिएको युक्रेनको दाबी

नेपालखोज २०७८ फागुन १६ गते १०:१५

किएभ । रुसले युक्रेनमाथि सैन्य कारबाही थालेको पाँचौँ दिन पुगेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी २४ घण्टा महत्त्पूर्ण समय हुने बताएका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई उनले सो कुरा बताएका हुन् ।

लडाइँमा आइतवार ‘कठिन समय’ भएको भन्दै युक्रेनी फौजका प्रमुखले रुसी सेनाले ‘सबै दिशाबाट आक्रमण जारी राखेको’ बताएका छन् । पश्चिमा देशहरूको कडा प्रतिबन्धसँगै रुसी मुद्रा रुबलको भाउमा व्यापक गिरावट आएको छ ।

संयुक्त राष्ट्रसंघले सोमवार सबै १९३ सदस्य राष्ट्र सम्मिलित हुने आपत्कालीन छलफल गर्दैछ । शरण लिनका लागि आवेदन दिन नपर्नेगरी सबै युक्रेनी शरणार्थीलाई तीन वर्षका लागि स्वीकार्ने प्रारम्भिक योजनाप्रति युरोपेली संघका सदस्य राष्ट्रले समर्थन जनाएका छन् । युक्रेनले अहिलेसम्म ४३ सय रुसी फौज मारिएको दाबी गरेको छ, तर त्यसको स्वतन्त्र पुष्टि भएको छैन ।

पश्चिमा देशको प्रतिबन्धको असर रुसमा

पश्चिमा देशहरूले रुसविरुद्ध लगाएका कडा प्रतिबन्धहरूको असर देखिन थालेको छ ।अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबलको मूल्यमा करिब ३० प्रतिशतले गिरावट आएको छ । युरोको मूल्यमा एक प्रतिशतले गिरावट आएको छ भने तेलको मूल्यमा पनि वृद्धि भएको छ ।

रुसमा एटीएमबाहिर मानिसहरूको ठूला–ठूला लाइन देखिएका छन्। नगद झिक्न सरकारले सीमा तोक्न सक्ने मानिसहरूमा डर छ । युरोपमा रुसी स्वामित्वका बैंकहरूले काम गर्न बन्द गरिसकेका छन्। रुसको केन्द्रीय बैंकमाथि लगाइएको प्रतिबन्धका कारण करिब ६३० अर्ब डलर विदेशी मुद्रा सञ्चितिलाई उसले प्रयोग गर्न पाउँदैन । –बीबीसी

प्रतिक्रिया