एमसीसी अनुमोदन गराउन एमालेको पनि अनौपचारिक समर्थन : डा. महत

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको पनि सहयोग रहेको दाबी गरेका छन् ।
आज पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रवक्ता महतले राजनीतिक कारणले सो सम्झौता संसदबाट अनुमोदन गराउन प्रमुख प्रतिपक्ष एमालेले औंपचारिक रुपमा सहभागिता नजनाए पनि अनौपचारिक रुपमा सहयोग गरेको बताए ।
उनले एमसीसीबारे सकारात्मक दृष्टिकोण राखि संसदबाट पारित गराउन अनौपचारिक ढंगले भए पनि सहयोग गरेको भन्दै एमालेलाई धन्यवाद समेत दिए । सो परियोजना संसदबाट अनुमोदन गराउन परिपक्व, सुझबुझपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै नेपाली जनताले आफ्नो पार्टीको प्रशंसा गरेको प्रवक्ता महतको भनाई थियो ।
प्रवक्ता महतले एमसीसी सम्झौंता पारित गराउन सबै दलको सहयोग रहेसँगै सोबारे जनस्तरमा उठेका भ्रमहरुको पनि निवारण भएको विश्वास व्यक्त गरे । उनले एमसीसीबारे जनस्तरमा अझै केही भ्रम भए त्यसलाई निवारण गरेर अघि बढन आफ्नो पार्टी लागि रहने प्रतिवद्धता समेत व्यक्त गरे ।
एमसीसी परियोजना विशुद्ध विकास सहयोग भएको उल्लेख गर्दै प्रवक्ता महतले त्यसबारे नकारात्मक दृष्टिकोण राखिरहन आवश्यक नभएको तर्क समेत गरे । प्रवक्ता महतले एमसीसीको डकुमेन्ट र संसदबाट पारित व्याख्यात्मक घोषणाले पनि एमसीसीबारे नकारात्मक टिप्पणी गर्नुपर्ने अवस्था नभएको दोहोर्याए ।
प्रवक्ता महतले यो परियोजनाको रकम विद्युत प्रशारण लाईन र सडक परियोजनामा खर्च हुने भन्दै त्यसको कार्यान्वयनमा आफ्नो पार्टी केन्द्रित हुने बताए । यो परियोजना संसदबाट पारित भएसँगै नेपालको आवश्यक्ताअनुसार बाह्य लगानी आउने नयाँ नजिर स्थापित भएको पनि उनले बताए ।

प्रतिक्रिया