आइतबार, जेठ ५, २०८२

उद्योग वाणिज्य महासंघद्वारा एमसीसीको स्वागत

नेपालखोज २०७८ फागुन १६ गते १७:१४

काठमाडौं । प्रतिनिधिसभाको फागुन १५ गते सम्पन्न बैठकबाट नेपाल सरकार अर्थमन्त्रालय र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीचको सम्झौता अनुमोदन भएकोमा नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ ।

प्रतिनिधिसभाबाट केही बुदाहरुमा रहेको अस्पष्टतासमेतलाई प्रष्ट पार्दै त्यसको व्याख्यात्मक घोषणाका साथ सम्झौता अनुमोदन भएकोमा अब यसका विषयमा रहेका सबै भ्रमहरु चिरिने विश्वास रहेको महासंघले विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

नेपाल सरकार र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच सन् २०१७ सेप्टेम्बर १४ मा भएको सम्झौताअनुसार विद्युत प्रसारण लाइन निर्माण र सडक मर्मतको काम संघीय संसदबाट सम्झौता अनुमोदन पश्चात सुरु हुनेछ । सम्झौता अनुमोदन पश्चात अव यो परियोजना पूर्णरुपमा कार्यान्वयनको चरणमा जाने महासंघको विश्वास छ, विज्ञप्तीमा भनिएको छ ।

तीन दर्जन बढि मुलुकमा एमसीसी अन्तर्गत परियोजना निर्माण भइसकेकाले नेपालमा पनि सहज कार्यान्वयन हुनेमा नीजि क्षेत्र विश्वस्त छ । पूर्वाधार विकास, आर्थिक वृद्धि र रोजगारी सिर्जनाका कुनै पनि क्रियाकलाप कुनै पनि वहानामा प्रभावित हुनु हुँदैन भन्नेमा महासंघ स्पष्ट रहेको दाबी गरिएको छ ।

सम्झौता अनुमोदनबाट समग्रमा नेपालमा लगानीको वातावरण रहेको संदेश विश्व समुदायसम्म पुुग्ने र यसबाट भविष्यमा अन्य वैदेशिक लगानी एवं सहायता समेत भित्रिने विश्वास समेत महासंघले गरेको छ ।

प्रतिक्रिया