चार महिनामा गैससमार्फत् २९ अर्ब वैदेशिक सहायता भित्रियो

काठमाडौं । सरकारले पछिल्लो चार महिनामा गैरसरकारी संस्थाहरुमार्फत् २९ अर्ब रुपैयाँ वैदेशिक सहायता भित्रिएको बताएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सो जानकारी गराएकी हुन् ।
आज सिंहदरवारमा बसेको राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले अघिल्लो आर्थिक वर्षमा करिव ९ अर्ब रुपैयाँ मात्रै विदेशी सहयोग आएको स्मरण गराइन् । मन्त्री रेग्मीले समाज कल्याण परिषद् र मन्त्रालयबीचमा काम गर्ने सवालमा दोहोरोपन देखिएको र त्यसलाई हटाउन आफूले एकद्वार प्रणाली लागू गरिएको दाबी गरिन् ।
बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद् दिनानाथ शर्माले गैरसरकारी संस्थाहरुलार्य पारदर्शी बनाउन सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् । गैरसरकारी संस्थाहरुमा अपारदर्शिता बढ्दै गएको उल्लेख गर्दै उनले नियमन गर्नु पर्ने बताए । सांंसद् शर्माले नेपालमा गैरसहकारी संस्थामा बजेट कहाँबाट कसरी आउँछ केही ठेगान नै नभएको दाबी समेत गरे ।
त्यस्तै नेपाली कांग्र्रेसका सांसद रमेशजंग रायमाझीले अहिले समाजकल्याण परिषद्लाई भूमिकाविहीन बनाउने काम सरकारले गरेको भन्दै आपत्ति जनाए । उनले पछिल्लो चार महिनामा २९ अर्ब वैदेशिक सहयोग कसरी आयो भनेर मन्त्री रेग्मीलाई प्रश्न गरे ।
त्यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले सरकारसँग गैरसरकारी संस्थाहरुको एकीन डाटा नभएको बताए । गृह मन्त्रालयले त्यसको डाटा लिने काम गरेपनि नविकरण नगरी खारेज हुने संस्थाहरुका कारण सो काम पनि सफल हुन नसकेको उनले बताए । उनले एक पटक दर्ता गर्ने तर नविकरण नगर्ने र फेरी अर्को नयाँ दर्ता हुने भएकाले अहिले कति यस्ता गैरसरकारी संस्थाहरु क्रियाशील भए÷नभएको ठम्याउन कठिन रहेको स्मरण गराए ।

प्रतिक्रिया