युक्रेनको रङमा रंगियो संसार (फोटो फिचर)

काठमाडौं । युक्रेनप्रति संसारभर अलग-अलग किसिमको सहानुभूति तथा समर्थन देखिएको छ । अहिले युक्रेनको समर्थनमा कैंयन् देशमा ठूला-ठूला प्रदर्शन भइरहेका छन् । युक्रेनको समर्थनमा सार्वजनिक स्थलहरुलाई युक्रेनी झन्डाको रङ नीलो तथा पहेंलोले रंगाउने चलन पनि चलेको छ ।
युक्रेनमाथि रूसी हमलालाई लिएर देखिएको यो तीव्र प्रतिक्रिया बढ्दै गएको छ । युक्रेनको समर्थनमा संयुक्त राष्ट्रसंघको मुख्य कार्यालय, न्युयोर्कको पर्खालमा लेखिएको छ- स्टेन्ड विथ युक्रेन ।
उता बुल्गेरियाको राजधानी सोफियामा सहरका बासिन्दाले सोभियत सेनाको एक स्मारकमा भएका सोभियत सैनिकहरुको मूर्तिलाई युक्रेनी झन्डाको रंगले पोतिदिएका छन् ।



युक्रेनको समर्थनमा नियाग्रा फल्सलाई पनि युक्रेनी झन्डाको रंगमा रंगाइएको छ । अहिले अमेरिकन फल्स र ब्राइड वेल फल्स नीलो तथा पहेंलो देखिन्छ ।
क्यानाडाको ओटावा, ओन्टेरियो पार्लियामेन्ट हिलस्थित पिस टावर पनि पोतेर युक्रेनको राष्ट्रिय झन्डा जस्तै भएको छ ।
बर्लिन, जर्मनीस्थित ब्रान्डेनबुर्ग गेट पनि युक्रेनी झन्डाको रंगमा रंगिएको छ । जर्मनीका विभिन्न सहरमा युक्रेनको समर्थनमा प्रदर्शन समेत भएको छ जसमा १ लाख भन्दा बढि मानिसले भाग लिइरहेका छन् ।
लन्डनस्थित बेलायती प्रधानमन्त्रीनिवास १० डाउनिङ स्ट्रिट युक्रेनी झन्डाको रङ नीलो तथा पहेंलोले रंगिएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले भनेका छन् उनी युक्रेनमा भइरहेको जघन्य गतिविधिले विक्षुब्ध छन् ।


सेन्ट्रल लन्डनको ट्रफालगार स्क्वायरमा पनि युक्रेनी झन्डाको रङ पोतिएको छ । त्यहाँ युक्रेनको समर्थनमा प्लेकार्डसहितको प्रदर्शनसमेत गरिएको थियो ।
जर्मनीको म्युनिखस्थित अलियन्स अरिना पनि अहिले नीलो तथा पहेंलो देखिन्छ । लन्डन स्टेडियम, ब्रिटेनमा भएको एक फुटबल म्याच पहिले युक्रेनी झन्डाका साथ खेलाडी आन्द्रेयी यारमोलेन्कोले समर्थनको अपिल गरे ।
उता इजरायलको राजधानी तेल अबिबमा रूसी हमलाविरुद्ध कैंयन् मिटर लामो युक्रेनी झन्डाका साथ प्रदर्शन सम्पन्न भएको छ । यसैगरी नर्वेको राजधानीमा नागरिकहरुले एउटा लामो युक्रेनी झन्डा समातेर र्याली निकालेका छन् ।
यस क्रममा नेपालको बौद्धमा मानवअधिकार तथा शान्ति समाज, काठमाडौंले समेत प्रदर्शन गरेको छ ।



प्रतिक्रिया