औसतमा एक दशमलव ३१ प्रतिशत कर्जा निष्क्रिय
वाणिज्य बैंक र विकास बैंकहरूको तुलनामा फाइनान्स कम्पनीहरूमा निष्क्रिय कर्जा धेरै

काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरूमा औसतमा एक दशमलव ३१ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार चालु आर्थिक बर्षको पछिल्लो ६ महिनाको अवधिमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीमा उक्त अनुपातको कर्जा निष्क्रिय देखिएको हो ।
‘यस्तो निष्क्रिय कर्जा वाणिज्य बैंक र विकास बैंकको तुलनामा फाइनान्स कम्पनीहरूमा बढी रहेको छ,’ प्रवक्ता भट्टले भने । राष्ट्र बैंकले मासिक रूपमा सार्वजनिक गर्ने निक्षेप तथा कर्जा प्रवाहसम्बन्धी विवरणअनुसार पनि बैक तथा फाइनान्स कम्पनीहरूले चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको अवधिसम्ममा कुल ४९ खर्ब चार अर्ब ७२ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी ४६ खर्ब ७५ अर्ब ८१ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा एक दशमलव ३१ प्रतिशत कर्जा खराब देखिएको छ ।
जसमध्ये वाणिज्य बैंकहरूले मात्र ४३ खर्ब २५ अर्ब ५८ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी ४१ खर्ब ५० अर्ब ३७ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा एक दशमलव १८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
विकास बैंकहरूले भने चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको अवधिमा चार खर्ब ८३ अर्ब ५२ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी चार खर्ब ३८ अर्ब ३७ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा एक दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
फाइनान्स कम्पनीहरूले भने चालु आवको पछिल्लो ६ महिनामा ९५ अर्ब ६१ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी ८७ अर्ब सात करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा सात दशमलव शून्य पाँच प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
निक्षेप तथा कर्जा र निष्क्रिय कर्जासम्वन्धी विवरण (रकम १० लाखमा, निष्क्रिय कर्जा प्रतिशतमा)

(स्रोत : नेपाल राष्ट्र बैंक)
प्रतिक्रिया