शुक्रबार, जेठ ११, २०८१

हेलिकोप्टरबाट नदेखिने छाउगोठका दर्दनाक कहानी

डा. अरुणा उप्रेती २०७८ चैत ३ गते १८:५१

एकजना वृद्धाले सुदूरपश्चिममा भनेकी थिइन्, ‘मलाई त छाउ हुने बेला आएपछि पीर पर्न थाल्थ्यो। वर्षातको बेलामा त कुन गोठ चुहिँदैन भनेर खोज्नु पर्थ्यो । गाउँका धेरै महिला एकै चोटी छाउ हुँदा त गोठमा पनि बस्न गाह्रो हुन्थ्यो । चुहिने गोठमा बस्दा बस्दा घरका मानिससँग छाता माग्दा, ‘तिमी छाउपडीलाई छाता चाहिने’? भनेर हप्काउँथे । जाडो र वर्षामा धोएको लुगा नसुकेर घरका मानिसँग सुकेको लुगा माग्दा ‘तिमी छाउपडीलाई किन सुकेको लुगा चाहियो ?’ भन्थे । धेरैजना महिला एकै ठाउँमा बस्दा खुट्टा तन्काउने ठाउँ पनि हुँदैनथ्यो । एकचोटि छाउ भएका बेला बारीमा बसेर घरबाट ल्याएको खाना खाँदै थिएँ, बेस्सरी पानी पर्‍यो । थालभरि पानी भयो । त्यो दिन गोठमा पानीले भिज्दै भोकै सुत्नुपर्‍यो ।’

छाउगोठका यस्ता दर्दनाक कहानीले पनि हाम्रा नीति निर्मातालाई छुँदैन । उनीहरु ‘वास्तवमा छाउपडी प्रथा हटिसकेको छ, खाली तिमीहरु नभएको कुरा मात्र लेखिरहन्छौ’ भनेर गैरजिम्मेवार बन्छन् ।

सुदूरपश्चिमका एकजना वामपन्थी नेताले मलाई झपारेका थिए, ‘तिमी केही महिलासँग पहिलेको कुरा गरेर नेपालमा छाउपडी प्रथा छ भनेर लेख्छ्यौ । म पनि मध्यपश्चिममा गएको छु । आजकाल त गाउँमा छैन यो प्रथा ।’

मैले भनें, ‘तपाईं हेलिकोप्टर चढेर वा मोटरमा सदरमुकामसम्म जानुहुन्छ अनि कहाँ देख्नुहुन्छ यस्ता छाउपडी । मोटर नपुग्ने ठाउँमा, दुई दिन हिँडेर जानुपर्ने ठाउँमा गएर हेर्नुहोस् त, कति महिला पीडित छन् ?’

यो उत्तर ती वामपन्थी नेतालाई मात्र होइन, सुदूरपश्चिमका सबै राजनीतिक दलका नेताहरुलाई हो ।

महिलाविरुद्धको हिंसामा बोल्ने नेताहरु कृपया एकचोटि यी महिलाको दुःख बुझिदिनुहोस् । सर्वोच्च अदालतका माननीय न्यायाधीशहरु तपाईंहरुले २०६७ साल वैशाख १९ गते सर्वोच्च अदालतले गरेको निर्णय कतै पनि पालना भएको छैन ।

‘महिलालाई छाउ गोठमा पठाउने प्रयासलाई कुरीति घोषणा गर्नुपर्ने र स्वास्थ्य मन्त्रालयले चिकित्सकहरु समेत भएको एक अध्ययन समिति बनाई यस प्रथाबाट महिला र बालबालिकामा पर्ने असर र समाधानको उपाय पहिचान गर्नुपर्ने’ जस्ता शब्दहरु कतै हराए ।

छाउपडीका विषयमा स्वास्थ्य मन्त्रालय सुतिरहेको छ । छाउपडीका कारण महिला र किशोरीहरुको प्रजनन र मानसिक स्वास्थ्यमा के असर पर्छ होला ? भनी सुदूरपश्चिम र मध्यपश्चिमका स्वास्थ्यकर्मीहरुलाई मैले सोध्दा उत्तर थियो, ‘खोई त्यस्तो समस्या लिएर त कोही आएको छैन । महिलाको स्वास्थ्यमा छाउ गोठमा बसेर खासै असर परेको छैन ।’

त्यस्ता कुराहरुले हामी स्वास्थ्यकर्मीहरु समस्याप्रति कति अनभिज्ञ र असंवेदनशील छौँ भनेर देखाउँछ। किनभने काठमाडौंमा चाहिँ महिनावारी भएको बेलामा पौष्टिक खाना खानुपर्छ, सफा प्याड प्रयोग गर्नुपर्छ, आराम गर्नुपर्छ भनेर सिकाउने हामीहरु जब किशोरी र महिलाहरु अफ्ठ्यारो, फोहोर कुनामा, गाई र भैंसीसँगै बस्छन्, उनीहरुको स्वास्थ्यमा केही असर पर्दैन भन्ठान्छौं ।

महिला अस्तित्वमाथि प्रहार गर्ने र महिला हिंसालाई बढावा दिने छाउपडी प्रथालाई रोक्न कसलाई गुहार्ने होला महिलाहरुले ? दलका नेता, न्यायाधीश र नीति निर्माणकर्ताले सुनेनन् र बुझेनन् भने के यहाँका महिलाहरु सर्पले टोकिएर, चिसोबाट कठ्यांग्रिएर, शिशुको मृत्यु भएको हेरेर बसिरहने कहिलेसम्म ? आउँदो पाँच सय वर्षसम्म ?

प्रतिक्रिया