बिहीबार, जेठ २, २०८२

७० लाख मानिस विस्थापित हुनसक्ने

नेपालखोज २०७८ फागुन १८ गते १२:३७

काठमाडौं । रूसको हमलाका कारण युक्रेनका करिब ७० लाख मानिस विस्थापनको जोखिममा परेका छन् । युक्रेन हमलाको एक साता नबित्दै हजारौं मानिस युक्रेनको सीमा पार गरेर पोल्यान्ड प्रवेश गरिसकेका छन् ।

युरोपियन युनियनका संकट प्रबन्धन आयुक्तका अनुसार युक्रेनका विरुद्ध रूसको सैनिक कारबाहीले ७० लाखभन्दा बढी मानिसलाई विस्थापित गर्नसक्छ । युरोपियन युनियनका संकट प्रबन्धन आयुक्त यानेज लेनार्सिचले पत्रकारहरुलाइ बताए, ‘हामी कैंयन् वर्षपछि युरोपमा ठूलो मानवीय संकटको सम्भावना देखिरहेका छौं ।’ लेनार्सिकका अनुसार संयुक्त राष्ट्र संघले भनेबमोजिम युद्ध जारी रहे ‘लगभग १.८ करोड युक्रेनियन मानवीय दृष्टिले प्रभावित हुनेछन्, चाहे उनीहरु युक्रेनमै हुन् वा छिमेकी देशमा ।’

लेनार्सिक भन्छन्, ‘यो तथ्यांक निकै ठूलो र डरलाग्दो छ त्यसैले हामीले यसप्रकारको आपत्‌कालका लागि तयार रहनुपर्छ ।’ संयुक्त राष्ट्रसंघको निकाय ओसीएचएको ताजा रिपोर्टअनुसार- अहिलेसम्म एक लाख ६० हजार मानिस विस्थापित भइसकेका छन् ।’

रिपोर्टमा उल्लेख भएअनुसार युक्रेनी सरकारको अनुमान के छ भने- ‘सबैभन्दा खराब स्थितिमा ५० लाख युक्रेनी शरणार्थी हुन सक्छन् ।’ अहिले युक्रेनियनहरु पोल्यान्ड, रोमानिया, हंगेरी तथा स्लोभाकियामा शरण लिइरहेका छन् ।

संयुक्त राष्ट्रसंघको सहायता एजेन्सीहरुको अनुमान छ यो लडाइँका कारण ५० लाख युक्रेनीले देश छाड्नेछन् । तीमध्ये पोल्यान्डमा मात्र ३० लाख युक्रेनी पुग्ने अनुमान छ । एजेन्सीहरुका अनुसार अहिले युक्रेनको केही भागमा इन्धन, खानेकुरा तथा औषधिहरुको कमी पनि देखा पर्न थालिसकेको छ ।
(यो सामग्री एएफपी तथा रोयटर्सक‍ो सहयोगमा तयार पारिएको ह‍ो ।)

प्रतिक्रिया