रूस-युक्रेन युद्धमा कुन देश कता ?

अमेरिका
राष्ट्रपति जो बाइडेनले भनेका छन्- सारा संसारको प्रार्थना युक्रेनी जनताका साथ छ । राष्ट्रपति पुटिनले जानिबुझी युद्ध सुरु गरेका हुन् । त्यसैले यसबाट हुने मृत्यु तथा बर्बादीको जिम्मेवार पनि उनी नै हुनेछन् । अमेरिकाले आफ्ना साथी देशसँग मिलेर रुसी हमलाको जवाफ दिनेछ ।
जर्मनी
जर्मन चान्सलर ओलाफ शोल्त्सले भनेका छन्- २४ फेब्रुअरीका दिन युक्रेनका लागि भीषण तथा युरोपका लागि दु:खी तुल्याउने खालको थियो । हामी रूसविरुद्ध कडा प्रतिबन्ध लगाउँछौं, ताकि रूसी नेतृत्वले यो हमलाको ठूलो मूल्य चुकाउनु परोस् । पुटिनले यो युद्ध सुरु गरेर गम्भीर गल्ती गरेका छन् ।
ब्रिटेन (बेलायत)
बेलायती प्रधानमन्त्री बोरिस जोनसन भन्छन्- युक्रेनको भीषण घटनाबाट म स्तब्ध छु । अब के गर्ने भन्ने विषयमा मैले युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग कुराकानी गरेको छु । युक्रेनमाथि हमला गरेर राष्ट्रपति पुटिनले हिंसा तथा बर्बादीको बाटो रोजेका छन् । ब्रिटेन यसको जवाफ डटेर दिन तयार छ ।
फ्रान्स
फ्रान्सका राष्ट्रपति इमानुएल मान्क्रोले युक्रेनमाथि रूसी हमलापछि एउटा आपतकालीन बैठक बोलाएका थिए । यो मुद्दामा उनले टेलिभिजनमार्फत राष्ट्रका नाममा सन्देशसमेत दिए जसमा मान्क्रोले भनेका छन्- फ्रान्स, युक्रेनको साथ खडा रहनेछ । फ्रेन्च विदेशमन्त्री जॉं ईव लु द्रियॉंले पनि फ्रान्सले हरेक किसिमले युक्रेनलाई समर्थन दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
चीन
चीनले युक्रेनमाथि गरिएको रूसी हस्तक्षेपलाई ‘आक्रमण’ मानेको छैन । चिनियाँ विदेशमन्त्री वाङ यीले रूसी विदेशमन्त्री सर्गेई लाचरोवसँग फोन कुराकानीसमेत गरेका थिए । कुराकानीमा उनले भने चिनियाँ धारणा के छ भने युक्रेन विवादको आफ्नै जटिल इतिहास छ । उनले लाभरोवलाई आस्वस्त तुल्याए कि चीनले सुरक्षासँग गाँसिएको रूसको जायज चिन्ता बुझेको छ ।
क्यानाडा
प्रधानमन्त्री जस्टिन ट्रूडोले यो हमलाका लागि रूसको निन्दा गरेका छन् । उनले भनेका छन् रूसले यो आक्रमणको सजाय पाउनेछ । ट्रूडोले भनेका छन्- बिनाकुनै उक्साहट गरिएको यो हमला युक्रेनको सम्प्रभुता तथा क्षेत्रीय अखण्डताको ठाडो उल्लंघन हो ।
टर्की
राष्ट्रपति रेचेप तैयप एर्दोहानले यो हमलाको निन्दा गरेका छन् । टेलिभिजनमा प्रसारित आफ्नो भाषणमा एर्दोहानले भनेका छन्- हामी युक्रेनको सम्प्रभुता तथा क्षेत्रीय अखण्डताको समर्थन गर्छौं । एर्दोहानले भनेका छन् रूस र युक्रेन दुवै मुलुकसँग टर्कीको निकट सम्बन्ध छ । यस्तो अवस्थामा यी दुई देशबीचको संघर्ष देखेर उनी निकै निराशा छन् ।
भारत
यो मामिलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मौन देखिएका छन् । उता यूएनमा भारतका स्थायी प्रतिनिधि टीएस तिरुमूर्तिले यूएनएससीमा भारतको दृष्टि स्पष्ट गर्दै यो मामिलामा भएका मतदानमा अनुपस्थिति जनाउँदै आएका छन् जसको रुसले प्रशंसा गरेको छ भने अमेरिकाले यसमा प्रश्न उठाएको छ । टीएस तिरुमूर्तिले यूएनमा हालका घटनाक्रममा दु:ख जनाउँदै तत्काल तनाव घटाउन सम्बद्ध पक्षहरुसँग अपिल गरेका थिए । उनले सम्बन्धित पक्षहरुको जायज सुरक्षा चिन्तामा ध्यान दिनुपर्ने कुरासमेत बताए ।
दक्षिण कोरिया
दक्षिण कोरियाली राष्ट्रपति मुन जे-इनले रूसविरुद्ध लगाइने अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्धमा दक्षिण कोरियाको साथ रहने बताएका छन् । कोरियाली राष्ट्रपतिनिवासबाट जारी एक बयानमा भनिएको छ- युक्रेनको स्वतन्त्रता, सम्प्रभुता तथा क्षेत्रीय अखण्डता कायम रहनुपर्छ । तागत प्रयोग गरेर निर्दोषहरुलाई नोक्सान पुर्याउने कामको कुनै पनि हालतमा समर्थन गर्न सकिँदैन ।
इरान
इरानी विदेशमन्त्री हुसेन अमिर-अब्दोल्लाहियाले एक ट्विटमा लेखेका छन्- इरान समस्या सुल्झाउन युद्धको सहारा लिने कुरामा विश्वास गर्दैन । इरानले नाटोको उक्साहटलाई युक्रेन संकटको जड बताउँदै राजनीतिक तथा कूटनीतिक समाधानका लागि अपिल गरेको छ ।
इटली
इटलीका प्रधानमन्त्री मारियो द्रागीले भनेका छन्- सबै सहयोगी देशहरु एकजुट छन् । युक्रेनको सम्प्रभुता, युरोपको सुरक्षा, अन्तर्राष्ट्रिय व्यवस्था तथा साझा मूल्यका लागि जे गर्नुपर्छ हामी मिलेर गर्नेछौं । प्रधानमन्त्री द्रागीले रूसविरुद्ध कडा प्रतिबन्ध आवश्यक भएको समेत बताएका छन् ।
हंगेरी
हंगेरीका प्रधानमन्त्री भिक्टर ओरबानले भनेका छन्- हंगेरी रूसको यो हमलाको निन्दा गर्दछ । हंगेरीका लागि अहिले आफ्ना नागरिकको सुरक्षा सबैभन्दा जरुरी छ । त्यसैले हंगेरी यो सैन्य संघर्षबाट बाहिर रहँदै युक्रेनलाई मानवीय सहायता प्रदान गर्न तयार छ ।
ग्रिस
युक्रेनमाथि रूसी हमलापछि ग्रिसले सेना तथा अन्य इमर्जेन्सी स्टाफको आपतकालीन बैठक बोलाएको थियो । जसमा प्रधानमन्त्री किरयेकोस मित्सोताइकिसले रूसी हमलाको निन्दा गरे । उता ग्रिसकी राष्ट्रपति क्याटरिना सकलारापुलुले भनेकी छन्- एउटा स्वतन्त्र देशमाथि गरिएको रूसी हमलाको जति निन्दा गरे पनि कम हुन्छ ।
इजरायल
इजरालले रूसी हमलालाई अन्तर्राष्ट्रिय व्यवस्थाको उल्लंघन बताएको छ । विदेशमन्त्री याइर ल्यापिडले रूसको निन्दा गर्दै भने- रूस र युक्रेन दुवैसँग इजरायलको राम्रो सम्बन्ध छ । विदेशमन्त्री याइरले यी दुई देशमा भएका यहुदीहरुका सम्बन्धमा कुरा गर्दै उनीहरुको सुरक्षा इजरायलका लागि अहं भएको कुरासमेत उल्लेख गरेका छन् ।
प्रतिक्रिया