रावलले ओलीलाई भने- देशहितको पक्षमा बोलेर ‘महाहिरो’ बनेर देखाउनु

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ‘महाहिरो’ बन्न चुनाैती दिएका छन् । उनले आज सामाजिक सन्जालमार्फत देशहितको पक्षमा बोलेर ओलीलाई ‘महाहिरो’ बनेर देखाउन चुनौती दिएका हुन् ।
अध्यक्ष ओलीले मंगलबार पत्रकार सम्मेलनमा एमसीसीको विरोध गरेर ‘हिरो हुन खोजेको’ बताएपछि प्रतिक्रियास्वरुप रावलले यस्तो बताए । उनले भने, ‘राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तव्यअनुरुप संसदमा बोल्दा मैले ‘हिरो’ हुनखोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफैं देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुशी नै हुने थिएँ । देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया ?’
रावलले निरन्तर एमसीसीको विरोध गरिरहेका छन् । प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन हुनेक्रममा रावलले चर्को असन्तुष्टि पोखेका थिए । एमालेले प्रतिनिधिसभामा अवरोध कायमै राखेपनि रावलले एमसीसीको विपक्षमा कडा अभिव्यक्ति दिएका थिए । एमालेका अन्य कुनै पनि सांसदले एमसीसीबारे धारणा राखेनन् । एमालेले माग सम्बोधन नभएसम्म ससद् अवरोध कायमै राख्ने बताएको छ ।

प्रतिक्रिया