नबिलले पायो एनबी गाभ्ने सैद्धान्तिक सहमति

काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश बैक (एनबी) लाई गाभेर एकीकृत कारोबार सञ्चालन गर्न सैद्धान्तिक अनुमति पाएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लोपटक बसेको सञ्चालक समितिको बैठकले एनबीलाई गाभेर एकीकृत कारोबार गर्न नबिल बैंकलाई सैद्धान्तिक सहमति दिएको हो ।
राष्ट्र बैंक स्रोतका अनुसार सैद्धान्तिक सहमति पाएसँगै अबको ६ महिनाभित्रमा नबिलले एनबीलाई गाभेर एकीकृत रूपमा कारोबार सञ्चालन गरिसक्नुपर्नेछ । यसअघि गत पुस २९ गते नबिलले एनबी बैंकलाई प्राप्ति गर्न सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो । प्राप्तिसम्बन्धी प्रक्रियाका लागि एनबीको एक सय कित्ता सेयरबराबर नबिलको ४३ कित्ता सेयर हुने गरी स्वाप रेसियो कायम गर्ने सहमति भएको थियो । प्राप्तिसम्बन्धी उक्त सम्झौतामा नबिलका तर्फबाट सञ्चालक उदयकृष्ण उपाध्याय र नेपाल बंगलादेश बैंकका तर्फबाट इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका थिए ।
नबिल बैंकले एनबीलाई प्राप्ति गरेपछि वाणिज्य बैंकहरूको हाल कायम रहेको संख्या २७ बाट २६ मा झर्नेछ भने नबिल बैंक वाणिज्य बैंकहरूमध्येमा सबैभन्दा ठूलो बैंक बन्नेछ ।
प्राप्तिपछि नबिलको प्राथमिक पुँजी ४३ अर्ब रुपैयाँ पुग्नेछ भने चुक्ता पुँजी २२ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । यसैगरी निक्षेप रकम तीन खर्ब १४ अर्ब रुपैयाँको हाराहारीमा पुग्नेछ । कर्जा रकम भने तीन खर्ब नाघ्नेछ ।
प्रतिक्रिया