‘रुसले युक्रेनमाथि गरेको आक्रमण अनुचित छ’

नेपालखोज २०७८ फागुन १८ गते १७:३१

काठमाडौं । नेकपा (एमाले) का नेता तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले एमसीसीको विषयमा नेपालका केही राजनीतिक दल र यसका नेताहरुले अपरिपक्व व्यवहार देखाएको भन्दै यसले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा दीर्घकालिनरुपमा गर्ने टिप्पणी गरेका छन् ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले एमसीसीको कारण नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा भएको क्षति नियन्त्रण गर्नको लागि निकै समय लाग्ने स्पष्ट पारेका छन् । नेता भट्टराईले सुरुमा एमसीसीको समर्थन गर्नेहरुले पछि यसलाई विरोध गरेको र विरोध गर्दागर्दै समर्थन गरेको भन्दै आश्चर्य प्रकट गरे । उनले रुसले युक्रेनमाथि गरेको आक्रमण अनुचित रहेको टिप्पणी गरेका छन् ।

त्यस्तै, कुटनीतिज्ञ तथा पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले नेपालका सबै वामपन्थीहरु मिलेर कांग्रेसलाई पराजित गर्नुपर्ने टिप्पणी गरेका छन् । उनले राजनीतिमा स्थायी मित्र र स्थायी शत्रु नहुने भन्दै वामपन्थीहरु मिलेर अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा र उनको पार्टीलाई हराउनुपर्ने सनसनीपूर्ण टिप्पणी गरे । उनले महाकाली सन्धी पारित गर्दा संकल्प प्रस्ताव पारित गरे जस्तै एमसीसी पारित गर्दा व्याख्यात्मक घोषणा पारित गरेको सुनाए ।

उनले रुस–युक्रेन युद्धमा भारत र चीन तटस्थ बसेको बेला नेपालले युक्रेनको बारेमा प्रो–अमेरिकन वक्तव्य दिएको टिप्पणी गरे । उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई कम्युनिष्ट नभएर राष्ट्रवादी नेताको रुपमा चित्रण गरे ।

त्यस्तै, राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले एमसीसी पनि महाकाली जस्तै कहिल्यै कार्यान्वयन नहुने दाबी गरेका छन् । उनले एमसीसीमा भारतको पनि सहमति आवश्यक रहेको उल्लेख गर्दै भोलि भारतले स्विकृति नदिए के हुन्छ ? भन्दै प्रश्न गरे । केसीले आज हामी एमसीसीबाट अगाडि बढिसकेको भनिए पछि यो कहिल्यै कार्यान्वयनमा नजाने ठोकुवा गरे । अहिले नेताहरुलाई सत्ता र पद भए हुने अरु केही नचाहिने अवस्था रहेको उनले सुनाए ।

प्रतिक्रिया