नेपाल खेलकुद महासंघ कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशन सम्पन्न

सुर्खेत । नेपाल खेलकुद महासंघ कर्णाली प्रदेश कमिटीको प्रथम अधिवशेन सम्पन्न भएको छ । प्रदेश राजधानी विरेन्द्रनगरमा आज सम्पन्न अधिवेशनले सुरज थापाको अध्यक्षतामा ३३ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको छ ।
तेक्वान्दोका ब्ल्याक बेल्ट तथा फुटबल र बास्केटबलका क्षेत्रीय खेलाडी थापा यसअघि आयोजक कमिटीका संयोजक रहेका थिए । दैलेखका डम्बरबहादुर शाही र सुर्खेतका भिमकुमारी भुसाल उपाध्यक्षमा निर्वाचित भए । कालिकोटका भलिबल खेलाडी पंखबहादुर मल्ल सचिवमा चयन भए ।

त्यसैगरी प्रकाश बस्नेत र पदम रावत उपसचिव एवं रविन्द्र शाही कोषाध्यक्षमा निर्वाचित भए । नेकपा एमालेका स्थायी कमिटी सदस्य यमलाल कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई महासंघका केन्द्रीय संयोजक कृष्ण बस्नेत (पर्शुराम) ले पद तथा गोपनियताको सपथ गराए ।
अधिवेशनलाई सम्बोधन गर्दै एमाले पोलिटब्युरो सदस्य एवं महासंघका ईन्चार्ज गोकुल बास्कोटाले आगामी स्थानीय निर्वाचनमा एमालेले आफ्नो घोषणापत्रमा एक वडा एक खेल पूर्वाधार तथा एक पालिका एक रंगशाला निर्माणको संकल्प उल्लेख गरेर जाने बताए । बास्कोटाले खेलकुद क्षेत्रको दिगो विकासका लागि महासंघले “स्कुल टु युनिभसिर्टी” एवं “क्लब टु कम्युनिटी” लाई राष्ट्रिय अभियानको रुपमा नेतृत्व गर्नुपर्ने र खेलक्षेत्र तथा खेलाडीलाई राष्ट्रिय पहिचानको रुपमा स्थापित गराउनेतर्फ ध्यान केन्द्रित गर्न सुझाव दिए ।

महासंघका निवर्तमान अध्यक्षसमेत रहेका एमाले केन्द्रित सदस्य रमेशकुमार पौडेलले सबै जनतालाई एकैसाथ खुसी प्रदान गर्नसक्ने महत्वपूर्ण कडीको रुपमा रहेको खेलकुद क्षेत्रको विकासले मात्रै समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा पुरा हुन सक्ने बताए ।
त्यसैगरी महासंघका केन्द्रीय संयोजक बस्नेतले राष्ट्रिय खेलकुद परिषदको ऐनलाई धज्जी उडाउँदै उपाध्यक्षलाई कार्यकारी अधिकार दिएर खेलकुद मन्त्रीले कहीं नभएको जात्रा हाँडीगाउँमा भन्ने उखानको चरितार्थ गरेकोे आरोप लगाए । साथै वर्तमान सरकारले खेलकुद क्षेत्रका सन्दर्भमा गरेका निर्णयहरुलाई मसिनो ढंगले हेर्ने हो भने धमिलो पानीमा माछा मार्ने शैलीले आफुलाई खेल विरोधी सरकार भएको प्रमाणित गरिसकेको बताए ।

प्रतिक्रिया