माओवादी बैठक- प्रचण्डले चित्त बुझ्दो प्रस्टीकरण नदिए पार्टी छाड्ने धम्की

नेपालखोज २०७८ फागुन २० गते ११:४५

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै छ । राष्ट्रिय सभागृहमा आज बस्ने बैठकमा सांगठनिक एवं समसामयिक राजनीतिका विषयमा छलफल हुने जनाइएको छ ।

माओवादीमा एमसीसीलाई लिएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नारायणकाजी श्रेष्ठ पक्षधर नेताहरु रुष्ट छन् । श्रेष्ठपक्षले भने अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे अध्यक्ष प्रचण्डले महाधिवेसनको निर्णय उल्टाएकाले सोही विषयलाई सुरुमा नै छलफलको विषय बनाउनुपर्ने माग राखेको छ ।

गत पुस १३–१९ मा सम्पन्न महाधिवेशनले ‘संशोधन र परिमार्जन बिना’ एमसीसी अनुमोदन गराउने निर्णय गरेको थियो । अध्यक्ष प्रचण्डले ‘व्याख्यात्मक घोषणा’को भरमा अनुमोदन गराउन निर्देशन दिएपछि श्रेष्ठ पक्षले सोही विषयलाई छलफलको प्राथमिकतामा राख्नुपर्ने माग राखेका छन् । प्रचण्ड अन्तिम समयमा आफ्नो निर्णयबाट ब्याक भएको आरोप लाग्दै आएको छ । पार्टीलाई थाहा नै नदिई उनी एमसीसीको पक्षमा उभिएको पनि नेताहरु बताउँछन् ।

एमसीसीका लागि बोलाइएको छलफलमा स्थायी समितिमा पाँच नेताले फरक मत राख्दा राख्दै एमसीसी अनुमोदन गर्न दिइएको आरोप प्रचण्डलाई लागिरहेको छ । उनले माधव नेपालहरुको सांसद पद जोगाउन र सभामुखलाई जोगाउन एमसीसीको पक्षमा उभिएको बताउँदै आएका छन् । तर पार्टीका नेताहरु उनको कुरा सुनिरहेका छैनन् ।

अध्यक्षले महाधिवेशनको निर्णयविपरीत एमसीसीको पक्षमा किन उभिएका हुन भन्ने बारेमा चित्त बुझ्दो प्रस्टीकरण नदिए श्रेष्ठ आफ्नो लिखित रुपमा अघि बढ्ने तयारीमा रहेका छन् ।

प्रतिक्रिया