अन्तर्राष्ट्रिय तथ्यता दिवस- अनलाइन मिडियाको १७ प्रतिशत फ्याक्ट चेक
काठमाडाैं । अन्तर्राष्ट्रिय तथ्य जाँच दिवस, अहिलेसम्म नेपालमा सिमित क्षेत्रका मानिसहरुले मात्र मनाउने गर्छन् । यो दिवसमा नेपालमा राष्ट्रिय रुपमा नमनाइए पनि केही क्षेत्रले भने तथ्य जाँच दिवसको रुपमा मनाउन थालेका छन् । हरेक वर्ष अप्रिल २ मा यो दिवस मनाइने गरिन्छ ।
अप्रिल १ मा झुक्याएर अप्रिल फुल मनाउने गरिन्छ भने त्यसको भोलिपल्ट अन्तर्राष्ट्रिय तथ्यता दिवस मनाउने गरिन्छ । सामाजिक सञ्जालमा आएका समाचार तथा सूचनाहरुको तथ्यता के हो ? भन्ने कुरालाई यसले स्पष्ट पार्छ । साथै देशका सामाजिक व्यक्तित्वहरुले सभामा बोलेका कुरहरुमा कति तथ्यपरक छन् भन्ने कुराको पनि यसले हेक्का राख्छ ।
फयाक्ट चेक नेपालका सम्पादक उमेश श्रेष्ठ दिवसको महत्व अधिकांश नेपालीलाई थाहा नभए पनि पछिल्लो समय सिमित क्षेत्रका मानिसले मनाउने गरेको बताउछन् । उनले सामाजिक सञ्जालमा आएको विषयलाई पत्याएर त्यसका आधारमा विचार नगरी विचार प्रवाह गर्न नहुने बताए । उनले केही समय रोकिएपछि र सत्यतथ्यताको जाँच गरेपछि विचार प्रवाह गर्दा समाजमा गलत सूचना नजाने र जनचेतना पनि बढ्ने बताए ।
सम्पादक श्रेष्ठले पछिल्लो समय सबैभन्दा धेरै गलत सूचनाहरु फेसबुकमा देखिएको र त्यसपछि क्रमशः टिकटक, ट्वीटरमा पनि गलत सूचना प्रवाह हुन थालेको बताए । अप्रिल फस्र्टमा पनि कतिपयले रमाइलोका लागि झुटो बोले पनि कतिपयले गलत मनशायका साथ सूचना प्रवाह गरिरहेको हुने उनको भनाइ छ । फ्याक्ट चेक गर्दा अहिले धेरैजसो कुरा डकुमेन्टमा आधारित भएर गरिएको र विज्ञहरुको भनाइ र डेटाहरुको आधारमा र ५ प्रतिशत मात्रै भिडियोको आधारमा फ्याक्ट चेक गर्ने गरेको उल्लेख गरे ।
त्यस्तै उनले नेपालमा जो कोही सामाजिक व्यक्तित्वहरुले सभामा बोल्दा त्यसको सत्यतामा कसैले चेकजाँच नगरेको बताए । सम्पादक श्रेष्ठले मिडियामा नेताहरुले बोलेको कुरालाई सत्यताको मापन नगरी समाचार प्रशारण गरिदिँदा गलत सूचना प्रवाह हुने गरेको पनि उल्लेख गरे । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको उदाहरण दिँदै उहाँले अमेरिकामा राष्ट्रपतिको उम्मेदवारी बेला गलत सूचना प्रवाह गरेकै कारण भाषण नै काटिदिएको भन्दै त्यस्तै सही सूचना प्रवाहका लागि नेपाली सञ्चारजगतले पनि यसमा महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताए ।
सम्पादक श्रेष्ठले सामाजिक व्यक्तित्वहरुले सभामा बोलेका कुराहरु कतिसम्म सत्य छन् र कतिसम्म प्रशारण गर्दा सही हुन्छ भन्ने कुराको सत्यता बुझाउन सकेमात्र नेपालमा पनि गलत सूचना प्रवाह हुनबाट बच्न सकिने बताए । नेपालमा अहिलेसम्म भएका फ्याक्ट चेकहरुको तथ्यांक विश्लेषण गर्दा सूचनाको श्रोतमा सबैभन्दा बढी सोसल मिडियामा ४७ प्रतिशत सूचनाहरुको फ्याक्ट चेक भएको छ भने, त्यसपछि मुलधारका मिडियाको २४ प्रतिशत फ्याक्ट चेक भएको उनले बताए ।
अनलाइन मिडियाको १७ प्रतिशत फ्याक्ट चेक भएको छ र फ्याक्ट चेक गर्नेले जुन मिडियामा बढी विश्वास हुन्छ, जस्तै मुलधारका मिडियामा आएका गलत सूचनाले धेरैलाई प्रभावित पार्न सक्ने भएको कारण मुलधारका मिडियाको नै बढी फ्याक्ट चेक हुने गरेको पनि बताए ।
प्रतिक्रिया