चुनावी गठबन्धनका लागि एमसीसी साैदा गरेको प्रचण्डको खुलासा

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन आगामी चुनावसम्म जाने निश्चित भएको दाबी गरेका छन् । केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसी अनुमोदनसँगै अहिलेको सत्ता गठबन्धन चुनावसम्मै कायम रहने सुनिश्चित भएको बताए ।
प्रतिनिधिसभाबाट एमसीसी पास भएसँगै गठबन्धनभित्र देखिएको अन्योलता हटेको उनको दाबी छ । प्रचण्डले अबचाहिँ गठबन्धन चुनावसम्मै जाने निश्चित भएको स्पष्ट पारे । अध्यक्ष प्रचण्डले एमसीसी पारित नभएको भए गठबन्धन भत्किने र मुलुकमा प्रतिगमन दोहोरिने खतरा रहेको समेत ब्रिफिङ गरेका छन् ।
अध्यक्ष प्रचण्डले एमसीसीमा फरक मत स्वाभाविक भए पनि पार्टीभित्र केही व्यक्तिले कार्यकर्तालाई नै भ्रमित पार्न खोजेकोमा आक्रोशसमेत व्यक्त गरेका छन् । प्रचण्डले भने, ‘गठबन्धन बनाउँदासम्म एमसीसी साझा कार्यक्रममा पनि थिएन । तर, समयक्रममा एमसीसीकै कारण गठबन्धन भत्किने अवस्था आयो । तर, यसलाई संसदबाट हामीले ट्याक्टफुल्ली पास गरेसँगै अब गठबन्धन चुनावसम्म जाने निश्चित भएको छ । यो गठबन्धन तीनै तहका चुनावमा पनि कायम राख्ने प्रयास गर्छौं ।’
प्रचण्डले देशको राजनीतिले नयाँ कोर्स पक्रिएको बताए । उनले भने, ‘गठबन्धन टुट्ने हो कि राष्ट्रिय राजनीति नै फेरि अन्योल र प्रतिगमनतिरै जाने हो कि भन्ने महसुश गरिएको थियो । त्यसमा एमसीसीसँग भएका मतमतान्तर नै कारक थियो । गठबन्धन बनाउँदा एमसीसीलाई सर्तको रुपमा राखेको होइन । साझा नीति कार्यक्रममा पनि एमसीसीमा राखिएको होइन । समय बित्दै जाँदा गठबन्धनभित्र एमसीसीको विषयले प्राथमिकता प्राप्त गर्दै गयो । त्यसमा मतमतान्तर भएपनि निकास दिइयो । अबचाहिँ गठबन्धन पनि निर्वाचनसम्म सुरक्षित रहने करिब निश्चित भयो ।’
प्रचण्डले निरन्तर संसद्मा अवरोध हुन नसक्ने भन्दै प्रतिपक्षी सदन खुलाउन तयार नभए नयाँ विकल्पमा जानुपर्ने पनि धारणा राखे ।

प्रतिक्रिया