आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन लाग्नुस् : नेता थापा

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छान्ने जिम्मा सम्बन्धित स्थानीय तहको कमिटीलाई नै दिइने बताएका छन् । आज नेपाली कांग्रेस मादी गाँउपालिका कास्कीले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाट्न गर्दै महामन्त्री थापाले आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार छान्ने जिम्मा सम्बन्धित कमिटीलाई दिइने बताएका हुन् ।
उनले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने कि नगर्ने भन्ने विषय पनि स्थानिय कमिटीकै भएको उल्लेख गर्दै कांग्रेसले केन्द्रबाट तालमेलको निर्णय नगर्ने बताए । उनले उम्मेदवार को बन्ने भन्ने विषयमा चिन्ता नगरी कांग्रेसलाई पहिलो पार्टी बनाउन लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।
महामन्त्री थापाले नेपालमा कम्युनिष्टहरुले उत्तेजनाको राजनीति गर्ने गरेको आरोप लगाए । एमसीसी प्रकरणमा मागेर देश चल्छ भनेर आवाज उठाउनेहरुको परिवार नै अमेरिकामा रहेको तथा विदेशमा उपचार गर्ने गरेको उनले बताए । आफू विदेशमा उपचार गर्ने अनि नेपाल फर्केर मुट्ठी कसेर मागेर अस्पताल बनाउने ? भन्ने प्रश्न गर्ने गरेको उनले टिप्पणी गरे ।
उनले एमसीसी सम्झौतामा कम्युनिष्टहरूले दोहोरो भूमिका खेलेर जनतालाई उत्तेजित बनाएको उल्लेख गर्दै कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सबैलाई मिलाउन सफल बनेको बताए । महामन्त्री थापाले संसद अवरोध जारी रहेमा के गर्ने भन्नेबारेमा छलफल भइरहेको बताए । उनले स्थानीय चुनाव बैशाख ३० मै हुने भन्दै संसदको अवरोध कायमै रहे मंसिरअघि नै संसदीय चुनाव हुनसक्ने बताए ।
प्रतिक्रिया