मंगलबार, वैशाख २३, २०८२

ढाड कम्मर दुख्दा अर्धचक्रासन

डा. हेमराज कोइराला २०७८ फागुन २१ गते १८:३३

जीवनको कनै न कुनै कालखण्डमा ढाड-कम्मर दुख्ने समस्याले तपाई हामी जो कोही पनि ग्रसित भएको हुनु पर्दछ । ढाड-कम्मर दुख्ने समस्या एक आम समस्या भए पनि यसको कारण अनेक हुन सक्छन् । ती कारणहरूमध्ये केही सामान्य एवं आम कारण छन् भने केही यदाकदा देखा पर्ने एवं विरलै घटित हुने कारणहरू छन् । आमकारणमा मांशपेशीहरूको जकडन, इन्टर-भर्टेब्रल-डिक्सको चोट-पटक, बल्ज, ढाडको हड्डि खिईने रोग, नसा च्यापिने रोग, साइटिका, स्पाइनल क्यानल साँगुरिने रोग, अष्टियो पोरोसिस, ढाड बांगिनेजस्ता रोगहरू पर्छन् । विरल कारणहरूमा भने ढाडको संक्रमण, कम्मरको हड्डीको टीबी एंककोलाइजिङ स्पोन्डाइलाइटिस, क्यान्सर आदि पर्छन् । ढाड कम्मर दुख्ने समस्याको धेरैजस्तो अवस्थामा योग चिकित्साको विशेष भूमिका हुन्छ । त्यसमा पनि निम्नलिखित योग आसनहरूको अभ्यासले ढाड कम्मरको दुखाइबाट छुटकारा पाउन विशेष महत्त्व छ ।

अर्धचक्रासन :
संस्कृत भाषामा गाडीको चक्कालाई चक्र भनिन्छ । यस आसनको अन्तिम अवस्थामा शरीरले चक्काको आधा भाग जस्तो स्थिति धारण गर्ने हुँदा यसलाई अर्धचक्रासन भनिएको हो ।

अर्धचक्रासन गर्ने विधि :
क) यो उठेर गर्ने आसन भएकाले भुईमा चटाई वा योगा-म्याट बिच्छ्याएर त्यस माथि उभिनुहोस् ।
ख) अब दुई गोडालाई आपसमा जोड्नुहोस र हातलाई शरीरसँग टासीकन सिधा अगाडी हेर्नुहोस् ।
ग) अब दुबै गोडालाई १.५ फिट जति फट्याएर हातहरुलाई कम्मरमाथि स्थापित गर्नुहोस् ।
घ) अब लामो गहिरो श्वास लिदै पहिले टाउको त्यसपछि गर्दन अन्तमा ढाडलाई अधिकतम पछाडी मोड्ने कोशिश गर्नुहोला ।
ङ) अन्तिम अवस्थामा श्वास-प्रश्वासलाई सामान्य अवस्थामा रहन दिनुहोला साथै खुट्टालाई मोडिन नदिनुहोला ।
च) ३० सेकेण्ड अडिएपछि विस्तारै श्वास छोड्दै शरीरलाई सीधा पार्दै जानुहोस् र हातहरुलाई पनि खोल्नुहोस् ।
छ) अन्तिममा आसन गरेकै क्रममा विस्तारै फिर्ता आउदै गएर सुरुवात गर्दाको अवस्थामा आउनुहोला ।
यो अभ्यासलाई २-३ चोटि दोहर्‍याउनुहोला ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया