सोमबार, जेठ १४, २०८१

‘प्रधानन्यायाधीशमाथिको महाभियोग न्यायालय समाप्त पार्ने षड्यन्त्र’

नेपालखोज २०७८ फागुन २१ गते २१:५१

काठमाडौं । संविधानविद् डा. पृथ्वीमान राईले न्यायपालिका स्वतन्त्र र निश्पक्ष हुनुपर्ने र यसमा कसैले पनि हस्तक्षेप गर्न नमिल्ने बताएका छन् । तर, पछिल्लो देशमा न्यायपालिकामाथि हस्तक्षेप भएको र न्यायालय अस्तव्यस्त भएको उनको टिप्पणी छ । उनले अहिले न्यायालयमाथि आक्रमणमात्रै नभएर षड्यन्त्रपनि भैरहेको आरोप लगाए ।

आज रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राईले अहिले न्यायालयमाथि बज्रपात भएको र नेपालको सार्वभौमिकतालाई हनन् गर्नेगरि ध्वस्त पार्ने कदम र हमला भएको टिप्पणी गरे । उनले न्यायालयमा सिण्डिकेट खडा गर्नेहरुले आज दम्भ र अहम देखाएर देशलाई बन्धक बनाएको आरोप लगाए । उनले अहिले स्वतन्त्र कानून व्यवसायीहरुको आन्दोलनमाथि पनि बन्देज लगाईएको गुनासो पोखे ।

राजनीतिक भागबण्डामा न्यायाधीशहरु नियुक्ती गर्नको लागि पनि पछिल्लो समय षड्यन्त्र भएको उनको आरोप छ । उनले बारमा सिण्डिकेट खडा गर्नेहरुले चरम राजनीति गरेको आरोप लगाए । आफूहरुले विकृति र विसंगतिको विरुद्धमा सशक्तरुपमा आवाज उठाउँदै आएको पनि राईले सुनाए । आफूहरु राष्ट्र र जनताको पक्षमा सधैं बुलन्द भएर बोल्ने र लागिपर्ने पनि उनले बताए ।

त्यस्तै, विश्ववक्ता बाबा होमबहादुर कार्कीले न्यायालयमा भएको विकृति हट्नुपर्नेमा जोड दिए । उनले जनताले न्याय पाउने सर्वोच्च निकाय सर्वोच्च अदालतलाई पंगु बनाउने काम दलका नेताहरुले गर्नु गलत भएको टिप्पणी गरे । उनले पाँच अहिले सरकारसम्बन्ध गठबन्धनमा आवद्ध दलहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाउनु गलत भएको बताए ।

उनले जनताले न्याय पाउने थलोमाथि नै यस्तो प्रहार गर्नु गलत भएको जिकिर गरे । उनले प्रधानन्यायाधीश चोलेन्द्र जबरामाथि महाभियोग लगाएर प्रधानमन्त्री शेरबहादुर देउवाले गम्भीर गल्ती गरेको सुनाए। उनले आफूहरु सधैं सत्यको पक्षमा बोल्ने गरेको सुनाए ।

त्यस्तै, अधिवक्ता त्रिलोकबहादुर चन्दले अहिले राज्यका तीन वटै अंग ध्वस्त बनाईएको गुनासो पोखे । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई परमादेश जारी गर्दा पाँच जना न्यायाधीशहरु रहेको अवस्थामा अहिले प्रधानन्यायाधीश जबरामाथि मात्रै महाभियोग लगाईएको र बलीको बोको बनाईएको गुनासो पोखे ।

उनले प्रधानन्यायाधीश जबरामाथिको महाभियोग नागरिकमाथिको महाभियोग भएको पनि टिप्पणी गरे । उनले भने,‘यो महाभियोग पार्टीका झोले, देशद्रोहीहरुको हस्ताक्षर चोरेर यो महाभियोग लगाईयो, देवेन्द्र कँडेलले नै यो महाभियोग झुक्याएर लगाईयो भनेर भन्नुभएको छ। कतिपय सांसदहरुलाई त महाभियोगबारे थाहा नै छैन् ।’

त्यस्तै, कार्यक्रममा सामाजिक अभियन्ता तथा पत्रकार हरिराम रिमालले राज्यले संविधान र कानुनअनुसार चल्नुपर्ने कुरा बिर्सन नहुने बताएका छन् । उनले कार्यापालिकाले व्यवस्थापिका र न्यायपालिकामाथि हस्तक्षेप र दुरुपयोग गर्न नहुने बताए । उनले लोकतन्त्र भनेको बहुमतले शासन गर्ने व्यवस्था भएको उल्लेख गरे । उनले अहिले अल्पमतले बहुमतलाई शासन गरेको सुनाए । उनले न्यायपालिका स्वतन्त्र हुनुपर्नेमा जोड दिए । राज्यका सबै निकाय स्वतन्त्र हुनुपर्ने बताए ।

प्रतिक्रिया