सोमबार, वैशाख १७, २०८१

तनावबाट मुक्ति पाउन खानुपर्ने कुरा !

डा. हेमराज कोइराला २०७८ फागुन २३ गते १०:५२

प्रतिकूल परिस्थितिलाई सामना गर्दा हाम्रो शरीरले व्यक्त गरेको शारीरिक, मानसिक र भावनात्मक प्रतिक्रियालाई चिकित्सा विज्ञानको भाषामा तनाव भनिन्छ । तनाव विभिन्न कारणले हुने गर्छ। तनाव हुँदा सर्वप्रथमतः मान्छे उक्त तनाव कारक तत्वसँग डराउँछ र तुरून्तै उक्त परिस्थितिबाट टाढा भाग्छ या परिस्थितिसँग मुकाबिला गर्छ। तनावबाट टाढा भाग्दा वा तनावलाई मुकाबिला गर्दा हाम्रो मस्तिष्कले तनाव सामना गर्नका लागि शरीरका विभिन्न अङ्गहरूलाई सक्रिय गराउँछ। यो सक्रियकरण प्रक्रियामा विभिन्न किसिमका न्युरोट्रान्समिटर र हार्मोनहरूको उत्सर्जन हुने गर्दछ । सामान्यतया तनाव हुँदा मुटुको धड्कन बढ्ने श्वासको गति बढ्ने रक्तचाप घटबढ हुँने, मांसपेशी कडा हुँने, टाउको दुख्ने, अम्लपित्त बढ्ने, हात्केला, पैतला एवं काखीबाट पसिना आउने, आँखाको नानी फैलिने, निन्द्रा नलाग्ने, खाना नपच्ने, जस्ता लक्षणहरू देखा पर्छन्। यसरी तनाव हुँदाका बखत देखापर्ने उपरोक्त स्वास्थ्य समस्याहरूले शरीरमा अनेकै प्रभाव पार्छ। यदि यी समस्याहरूलाई अनियन्त्रित छोडी दिएको खण्डमा हाम्रो स्वास्थ्यमा गम्भिर असर पर्छ। यसर्थ यी समस्याहरूको समयमै निराकरण गर्नुपर्ने हुन्छ। निम्नलिखित खानेकुराको सेवनले तनाव नियन्त्रण गर्न एवं तनावका जोखिम कम गर्नका लागि ठूलो सहयोग गर्छ।

सुक्खा फलफूलः काजु, पिस्ता, बदाम, ओखर, मुङ्गफली, ब्राजिल नट जस्ता सुख्खा फलफूलहरूको नियमित सेवनले तनाव व्यवस्थापनमा ठूलो मद्यत पुर्‍याउँछ। यी सुख्खा फलफूलमा प्रशस्त मात्रामा स्वस्थ फ्याट्टी एसिड पाइने हुँदा यी फ्याट्टी एसिडले शरीरलाई तनावको अनावश्यक प्रभावबाट बचाउछ। सुख्खा फलफूलमा सामान्यतया भिटामिन ई र बी उच्च मात्रामा हुनेहुँदा तनावको बेला बढेको रक्तचापलाई कम गर्न मद्दत गर्दछ। यसैगरि यी खानेकुराहरूमा खनिज तत्व र एण्टिअक्सिडेण्टको मात्रा पनि प्रशस्त हुने हुँदा तनावलाई चाँडै लगाम लगाउँछ।आफ्नो तौल बराबर ग्राम सुख्खा फलफूल सेवन गर्नुपर्छ।

अश्वगन्धाः तनाव, चिन्ता, भय र उदासिनताले ग्रसित व्याक्तिहरूका लागि अश्वगन्धाको सेवनले अत्यन्त फाईदा पुर्‍याउँछ। यसले हाम्रो मस्तिष्कको तनाव सम्बन्धि रासायनिक सूचना प्रणालीलाई अवरुद्ध गरेर तनाव कम गर्दछ। अश्वगन्धाको सेवनले तनावको क्रममा उत्सर्जित हुने कर्टिसोल हार्मोनलाई पनि कम गर्दछ। यसैगरि तनावको स्थितिमा देखापर्ने उच्च रक्तचाप, उच्च रक्त ग्लुकोज, रक्त चिल्लोको गडबडी जस्ता मानबिन्दुहरूलाई समेत कम गर्दछ। दैनिक १ देखि २ ग्राम अश्वगन्धालाई पानीसँग वा दूधसँग सेवन गर्दा धेरै फाइदा हुन्छ।

ग्रिन टीः ग्रिन टी भिटामिन, एन्टीआक्सीडेण्ट र आवश्यक एमिनो एसिडहरूको राम्रो श्रोत हो। ग्रिन टीमा पाइने एल–थियानिन र आर्जिनिन नामक एमिनो एसिडले तनाव र चिन्ता कम गर्न मद्दत गर्दछ। यी तत्वहरूले तनावका क्रममा देखापर्ने मांसपेशिको कडापन र उच्च रक्तचापलाई समन गर्दछ।

पालुङ्गोः चम्सुर, पालुङ्गो र अन्य हरिया सागपातहरूको सेवनले तनावलाई उल्लेखिनिय रूपमै कम गर्दछ। हरिया सागपातहरूमा पाइने धेरै पोषक तत्वहरू जस्तै: भिटामिन, खाद्यरेशा, खनिज एवं लवण र एण्टिअक्सिडेण्टले तनाव कम गर्न मद्यत गर्दछ। हरियो सागपातमा मनग्गे पाइने म्यागनेसियम नामक खनिजले हाम्रो शरीरमा हुने ३०० भन्दा धेरै रसायनिक प्रतिक्रियामा भाग लिने गर्दछ। यो खनिजको उपयोग तनाव, चिन्ता, भय, उदासिनता, अनिन्द्रा, निराशा, उन्माद एवं पागलपनको उपचार गर्नका लागि पनि प्रयोग गरिन्छ। हरियो सागपातलाई सकभर नपकाइकन ग्रिन स्मुथी बनाएर खाएको राम्रो हो।

चिया सिडः चिया सिडमा प्रशस्त मात्रामा ट्रिप्टोफ्यान नामक एनिमो एसिड पाइन्छ । ट्रिप्टोफ्यानले दिमागमा सेरोटोनिन नामक न्यूरो ट्रान्समिटरको संश्लेशण र उत्सर्जन गर्न मद्यत गर्दछ। सोरोटोनिनको उत्सर्जनले मानसिक शान्तिलाई बढाउने र निन्द्रा लगाउने गर्दछ। दैनिक २० ग्राम चिया सिडलाई सिधै चवाएर, स्मुथी बनाएर वा चटनीमा हालेर, सलादमा हालेर, वा डेजर्टको रूपमा पनि खान सकिन्छ।

बेसारः बेसारको प्रयोगले पनि तनाव र चिन्तालाई कम गर्नका लागि अत्यन्त ठूलो भूमिका खेल्छ। बेसारले हाम्रो मस्तिष्कमा सेरोटोनिन र डोपामाइनको उत्सर्जनलाई बढाउँछ। यी दुवै तनाव कमगर्ने न्यूरोट्रान्समिटरहरू हुन् । दैनिक एक ग्राम बेसारको सेवन पानी वा दुधसँग गर्दा हाम्रो मानसिक स्वास्थ्य मजबुत हुन्छ।

किबीः किबीलाई पनि मुड ताजा गर्ने फलफूलको रूपमा बुझीएको छ। प्रसस्त मात्रामा भिटामिन सी पाईने यो फलको दैनिक सेवनले तनाव, चिन्ता कम गर्ने र मानसिक स्फूर्ति दिने गर्छ। यसको सेवन अनिन्द्राले ग्रस्त भएकाहरूलाई पनि उत्तिकै महत्वपूर्ण छ।

फर्सीको बियाँः फर्सीको बियाँ पनि मानसिक स्वास्थ्यको लागि अत्यन्त लाभदायक खानेकुरा हो। यसमा प्रसस्त मात्रामा एण्टिअक्सिडेण्ट पाइन्छ। मानसिक स्वास्थ्यको लागि अत्यावश्यक म्यागनेसियम, म्याग्निज, कपर, भीटामिन के, जिङ्क, आइरन, फस्फोरस जस्ता अनेकौं खनिज एवं लवणहरू पाइने फर्सीको बियाँको नियमित सेवनले तनाव दुर गर्छ। यसैगरि चिन्ताबाट मूक्ति पाउन बियाँ खानुपर्ने हुन्छ।

लेखक, भरतपुर—१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय मेडिकल डाइरेक्टर हुन् ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया