बुधबार, असार २, २०७८

किनकि ‘म उज्ज्वल हुँ’

शागर प्रसाई २०७८ जेठ १९ गते ७:४७

झमझम पानी परिरहेको थियो। हरेक बिहीबार जस्तै त्यो दिन पनि म थापाथलीको पुलमा देशको झन्डा बोकेर (व्हील चियरमा) बसेको थिएँ। म जसरी नै अरू धेरै जना पनि पुलको एउटा तर्फ लहरै उभिएका थिए। हिजै बेलुकादेखि नै मौसम बिग्रेको थियो, त्यही भएर आज म यहाँ नआउनेवाला थिएँ। तर बिहानै उज्ज्वल दाइले फेसबुकमा “आज आउनुपर्छ है“ भनेर मेसेज गर्नु भएको रहेछ। त्यही भएर आएँ ।

त्यसताका नेपालमा पहिलो संविधान सभाको म्याद सकिन लागेको थियो तर पनि संविधान बन्ने कुनै सुरसार थिएन। आजका यिनै घिनलाग्दा मान्छेहरू त्यो बेला पनि जनताले तिरेको करमा मोज गरेर बिना काम बसेका थिए। र हामी चाहिँ हरेक हप्ता देशको झन्डा बोकेर, छातीमा नारा भएको कागज टासेर उनीहरूलाई खबरदारी गर्ने गर्थौं।

एक घण्टाजति त्यसरी बसेपछि कार्यक्रम सकियो । भिजेर निथ्रुक्क पनि भइयो। अनि मलगायत एक जमात चिया खान भनेर एउटा पसलमा पसियो। म, उज्ज्वल दाइ अनि अरू केही साथी सँगसँगै बस्यौँ। उज्ज्वल दाइ हाम्रा लिडर हुनुहुन्थ्यो। उहाँले म तिमीहरूको नेता भनेको हैैन, हामीले नै मानेको, बनाएको हाे।

मैले दाईलाई भने, यसरी के होला त दाइ। यी नेता भन्नेहरुलाई हामीले यहाँ खबरदारी गरेको के मतलब! संविधान बन्यो भने पनि फेरि चुनावबाट आउने यिनै होलान्। भरसक धेरै नबोल्नु परे हुन्थ्यो जस्तो गर्ने उज्ज्वल दाइले जम्मा यति भन्नुभयो- “यो अभियान यतिकै कहाँ सकिन्छ। त्यसपछिको नेतृत्व सागरले गर्नुपर्छ।“ म हाँसे मात्र ! पानी पर्न अलि कम भएपछि हामी आ आफ्नो बाटो लाग्यौँ।

उज्ज्वल दाइको बानी नै थियो, समाधान खोज्ने अनि समस्या औँल्याउनेलाई नै समाधानको नेतृत्व गर्न प्रोत्साहित गर्ने ।

एक हिसाबमा हेर्दा हामीले त्यो बेला गरेको अभियान, खबरदारी सब खेर गए जस्तो लाग्न सक्छ। सविधान नै आए पनि हामीलाई शासन गर्ने तिनै भ्रष्ट मात्रै भए। उज्ज्वल दाइ जस्ता मान्छेहरू चुनावमा न्यून मत प्राप्त गरे। सम्झिदा केही न केही ।

तर हैन, परिवर्तन त्यति सजिलै आउँदैन। यसका लागि दशकौँ लाग्छ । यो फगत चुनाव जितेर वा हारेर हुने कुरा होइन। यसको लागि दर्शन चाहिन्छ, विचार चाहिन्छ। र उज्ज्वल दाइ त्यो दर्शन हुनुहुन्छ। हाम्रो आफ्नो स्वदेशी दर्शन । नेपाल हाम्रो डेरा हैन घर हो भनेर हामीलाई बुझाउँदै उज्ज्वल दाइले देशको यस्तो स्वरूपको सपना हामीलाई देखाउनु भएको छ कि त्यो सपनातर्फ देशलाई लैजान आज सयौँ अरू उज्ज्वल उदाएका छन् र भोलि अरू हजारौं उज्ज्वल थपिनेछन्।

एक सच्चा नेताले आफ्नो पछि लागेकालाई अगाडि ल्याउँछ, नेतृत्व गर्न सक्ने बनाउँछ। उज्ज्वल दाइले हामीलाई अर्को उज्ज्वल बनाएर जानु भयो। उहाँले सुरुको गरेको परिवर्तनको अभियानलाई अब हामीले आफ्नो क्षेत्रबाट अगाडि लानुपर्छ । मैले अगाडि लानुपर्छ ।

प्रतिक्रिया