बिहीबार, वैशाख २०, २०८१

मोरङमा माओवादीको शाख जोगाउने मेयर दिलीपलाई पार्टीले घोक्रेठ्याक लगायो

नेपालखोज २०७८ फागुन २४ गते १२:३३

काठमाडाैं । नेकपा माओवादी केन्द्रले मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलीप अग्रवाललाई पार्टीबाट निकालेको छ । मोरङभर एक पालिका प्रमुख मात्र माओवादीले जितेको थियो ।

नेकपा एमाले प्रवेश गर्ने तयारी गरेपछि अग्रवाललाई पार्टीबाट निष्कासन गरिएको माओवादीले जनाएको छ । माओवादी केन्द्र प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङले विज्ञप्ति जारी गर्दै पार्टीको आचरण विपरीत काम गरेका कारण अग्रवालको साधारण सदस्यतासमेत खारेज गरेर कारबाही गरिएको बताएका छन् ।

माओवादी केन्द्रबाट मोरङमा स्थानीय तहको निर्वाचन जित्ने एक्लो पालिका प्रमुख हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रतिनिधिसभा विघटन गरे यता नै उनी एमालेसँग नजिकिएका थिए । विज्ञप्तिमा भनिएको छ, ‘पार्टी नगर कमिटी इन्चार्जको जिम्मेवारीमा समेत रहेका अग्रवाल आफ्नै पार्टी कमिटीलाई क्षति पुग्ने गतिविधि गर्दै पार्टीको शक्ति र नगर प्रमुखको शक्तिलाई आफ्नो व्यवसायीक स्वार्थमा प्रयोग गर्न खोजेपछि जिल्ला पार्टी कमिटी मोरङले २०७८ वैशाखमा निजलाई पार्टीको विधान धारा ५७ (२) बमोजिम रंगेली नगर कमिटी इन्चार्जको जिम्मेवारीबाट निलम्बन गरी अनुशासनको स्पष्टीकरणसमेत सोधि पार्टी सदस्यता खारेजीको लागि प्रदेश कमिटीलाई सिफारिस गरिएको थियो ।’

औपचारिक रुपमा एमाले प्रवेश गर्न लागेका मोरङस्थित रंगेली नगरपालिकाका प्रमुख अग्रवाललाई माओवादी केन्द्रले कारबाही गरेको जनाएको छ । जारी विज्ञप्तिमा भनिएको छ, ‘स्पष्टीकरणमा निजले पालिकाको कामले पार्टीमा समय दिन नसकेको र पार्टी हित विपरीत जाने आफ्नो मनसाय नरहेको भनि जवाफ दिएतापनि आजसम्मको राजनीतिक गतिविधिमा पार्टी गोपनियता भंग गरेको, पार्टी अनुशासन नमानेको र वर्ग विरोधी क्रियाकलापमा लिप्त भएको कारण २०७८/११/१५ बाट लागू हुनेगरी नगर पार्टी कमिटीको सिफारिस अुनसार दिलिप कुमार अग्रवाल नेकपा माओवादी केद्र पार्टीको सधारण सदस्य समेत खारेजी गर पार्टीको कुनै आधिकारिक व्यक्ति नरहेको व्यहोरा सबैमा अवगत गराउँदछौं ।’

विज्ञप्तिमा अग्रवालले छर्ने कुनै पनि भ्रमको पछाडि नलाग्न रंगेली नगर कमिटीका स्थानीय नेता कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तकमा अपिल गरिएको छ । पार्टीको चुनाव चिन्हबाट नगर प्रमुखमा निर्वाचित भएकोले नगर प्रमुख पदबाट निस्कासन गर्न पार्टीको केन्द्रीय कार्यालयमार्फत निर्वाचन आयोगलाई सिफारिस गरेको पनि माओवादी केन्द्रले जनाएको छ ।

अग्रवालसहित रंगेलीका माओवादी कार्यकर्ता नेकपा एमालेले भोलि सोही ठाउँमा आयोजना गरेको एक कार्यक्रमकाबीच पार्टी प्रवेशको तयारीमा रहेको बताइएको छ । उनलाई पार्टी प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार रंगेली जाने कार्यक्रम छ ।

प्रतिक्रिया