रुसको चेतावनीबीच पश्चिमा देशहरूद्वारा उसका तेल र ग्यासमा प्रतिबन्ध घोषणा

काठमाडाैं । युक्रेनमाथि मस्कोको आक्रमणको विरोधमा आर्थिक प्रतिबन्धलाई बढाउँदै अमेरिका र ब्रिटेनले रुसी तेलमा प्रतिबन्ध लगाउँदै छन् भने युरोपेली सङ्घले रुसी ग्यासमा आफ्नो निर्भरता समाप्त गर्न गइरहेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कदमले ‘रुसको अर्थतन्त्रको मुख्य धमनी’लाई नै प्रहार गर्ने बताएका छन् । ऊर्जा निर्यात रुसी आम्दानीको एउटा महत्त्वपूर्ण स्रोत हो, तर पश्चिमी देशहरूको यो कदमले उनीहरूकै उपभोक्तालाई पनि असर गर्ने सम्भावना हुन्छ ।
यसैबीच, बहुराष्ट्रिय ठूला ब्रान्डहरूले रुसबाट बाहिरिने क्रम जारी राखेका छन् । म्याकडोनल्डस् र कोका-कोला रुस छाड्ने पछिल्ला कम्पनी बनेका छन् । रुसको अर्थतन्त्र ऊर्जा व्यापारमा धेरै मात्रामा निर्भर छ । यो साउदी अरब र अमेरिकापछि विश्वकै तेस्रो ठूलो तेल उत्पादक देश हो ।
पश्चिमा प्रतिबन्धहरूको घोषणाअघि रुसले त्यस्ता प्रतिबन्धहरूले विश्वव्यापी अर्थतन्त्रमा ‘विध्वंसक’ नतिजा ल्याउने चेतावनी दिएको थियो । उसले जर्मनीमा ग्यास आपूर्ति गर्ने आफ्नो मुख्य ग्यास पाइपलाइन बन्द गर्नसक्ने चेतावनी पनि दिएको छ । द्वन्द्वले अमेरिका र ब्रिटेनमा पेट्रोलको मूल्य हालसम्मकै उच्च भएको छ । बीबीसी
प्रतिक्रिया