बुधबार, जेठ २, २०८१

गाउँपालिकाकी उपाध्यक्षलाई एमालेले किन कारबाही गर्‍यो ?

नेपालखोज २०७८ फागुन २५ गते ११:५४

काठमाडौं । बैतडिको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दलाई नेकपा एमालेले कारबाही गरेको छ । एमालेले चन्दलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।

वि सं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टी हितविपरीत काम गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ । मंगलबार जारी गरिएको प्रेस विज्ञप्तिमा राष्ट्रियसभाको निर्वाचनमा अन्तर्घात गरेको भन्दै कारबाही गरेको उल्लेख गरिएको छ । माघ १२ गते भएको राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका पाँच प्रमुख–उपप्रमुखले अन्तर्घात गरेको निष्कर्ष निकाल्दै एमालेको सुदुरपश्चिम प्रदेश कमिटीले जिल्लालाई छानबिन गरी कारबाही गर्न निर्देशन दिएको थियो ।

पार्टीको निर्देशनबमोजिम पदीय आचरण र भूमिका निर्वाह नगर्ने र बेवास्ता गर्दै हिँड्ने, सामाजिक सञ्जालमा पार्टीको नीति, नेतृत्वविरुद्ध जाने र विरोधी पार्टीसँग साँठगाँठ गरी पदीय आचरणको दुरुपयोग गर्ने, पार्टीलाई बुझाउनुपर्ने लेबीसमेत नबुझाएको, पार्टीको हितविपरीत काम गरेको र यस्तै स्पष्टीकरण सोध्दासमेत नदिएकाले चन्दमाथि कारबाही गरिएको एमाले पाटी शिवनाथ बैतडिले जनाएको छ ।

प्रतिक्रिया