झापा गोल्डकपमा दर्जिलिङलाई हराउँदै आर्मी सेमिफाइनलमा

काठमाडाैं । त्रिभुवन आर्मी फुटबल क्लब पाँचौं झापा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । बिर्तामोडस्थित डोमालाल रंगशालामा भारत दर्जिलिङको मानेभन्ज्याङ फुटबल क्लबलाई बुधबार ३–० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।
आर्मीलाई जित दिलाउन सन्तोष तामाङ, जर्ज प्रिन्स कार्की र विकास तामाङले गोल गरे । नवौं मिनेटमा सन्तोषले झण्डै २५ यार्डबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो । जर्ज प्रिन्सले गोल गरेपछि आर्मीले पहिलो हाफमा २-० को अग्रता बनाएको थियो ।
सन्तोषको पासलाई नियन्त्रणमा लिदै जर्ज प्रिन्सले पेनाल्टी बक्सको ठिक बाहिरबाट गरेको प्रहार विपक्षी गोलकिपरलाई कुनै मौका नदिइ गोलमा परिणत भएको थियो । विकासले ६८ औं मिनेटमा हेडमार्फत गोल गरेपछि आर्मीले आरामदायी अग्रता बनाएको थियो ।
सोही खेलमार्फत चोटमुक्त भएका फरवार्ड नवयुग श्रेष्ठ र रक्षक विकास खवासले पूनरामगन गरेका छन् । खेलमा ३–० को अग्रता लिएको अवस्थामा ७८ औं मिनेटमा दुवै खेलाडी मैदान प्रवेश गरेका थिए । खेलको ७८ औं मिनेटमा जर्ज प्रिन्स कार्कीको ठाँउमा नवयुग र दीपक गुरुङको ठाँउमा विकास मैदान प्रवेश गरेका थिए ।
७८ औँ मिनेटमा एम एफसीका कप्तान प्रतीक लामाको क्रस पास रोबर्ट खोन्जोले सदुपयोग गर्न सकेनन् । ८६ औँ मिनेटमा आर्मीका नवयुग श्रेष्ठको कडा प्रहार विपक्षी गोलरक्षक कुन्जाङ भुटियाले नियन्त्रणमा लिए । बुधबारको खेलको प्लेयर अफ दि म्याच आर्मीका विकास तामाङ भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ पाए । बिहीबारको खेल घरेलु टोली झापा–११ फुटबल क्लब र भारत सिक्किमको आरपी एफसीबीच हुने आयोजकले जनाएको छ ।

प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ९ हजार ९९९ पाउनेछन् । प्रतियोगिताको विजेता टोलीले नगद १२ लाख ५५ हजार प्राप्त गर्दा उपविजेताले नगद ६ लाख ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ भने प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार पुरस्कार पाउनेछन् भने उच्च गोलकर्तालाई नगद २५ हजार दिइनेछ ।
प्रतिक्रिया