गृह मन्त्रालयले नागरिकता विधेयकलाई टुंग्याउन शीर्ष नेताहरुसँग छलफल गर्ने

नेपालखोज २०७८ फागुन २५ गते १९:४५

काठमाडौं । गृह मन्त्रालयले लामो समयदेखि विवादित बनेको नागरिकता विधेयकलाई टुंग्याउन प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएको छ ।

आज गृह मन्त्रालयमा भएको नागरिकता विधेयकमाथिको छलफलमा बोल्दै गृहमन्त्री खाँडले नागरिकता विधेयकलाई अघि बढाउने र टुंग्याउन सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरुलाई सहयोग लिने बताए ।

नागरिकताको विषय धेरै संवेदनशील र दूरगामी असर गर्ने भएकोले राजनैतिक रुपमा आमसहमति बन्नुपर्ने आवश्यकता रहेको बताए । उनले यस बारेमा पार्टीका शीर्षस्थ नेताहरु र पार्टी अध्यक्षहरुलाई जानकारी गराइने पनि बताए । उनले नेपाली नागरिकले नागरिकता पाउनुपर्ने कुरा सबैको साझा दायित्व भएको भन्दै यसलाई पूरा गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले जन्मसिद्ध नागरिक र अंगीकृत नागरिकलाई सबैभन्दा बढी समस्या भइरहेको बताएका छन् । उनले नागरिकता नपाउँदा राज्यका सेवा, सुविधाबाट वञ्चित भइरहेको भन्दै यो विषयलाई प्राथमिकतामा राखेर तत्काल समस्या समाधान गर्नुपर्ने बताए ।

मन्त्री बडूले नागरिकताको विषय धेरै पेचिलो बन्दै गएको र यो विषय दलीय सहमतिमा लगेर तत्काल टुंग्याउन आवश्यक रहेको बताए । मन्त्री बडूले धेरै समय नागरिकहरुलाई नागरिकता बिहीन बनाउन नहुने भन्दै यसको समस्या तत्काल समाधान गर्नुपर्ने बताए ।

नागरिकता विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा २०७५ सालको साउनमा दर्ता भएर छलफलमा नै रहेको छ ।

प्रतिक्रिया