उद्धारका लागि हेलिकाेप्टर पठाइँदै

काठमाडाैं । संखुवासभाको मादी नगरपालिका ६ स्थित सातघुम्तीमा भएको बस दुर्घटनामा घाइते भएकाको उद्धारका लागि हेलिकाेप्टर पठाइने भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनपछि उद्धारका लागि होलिकोप्टर पठाइने भएको हो ।
उनले गृहसचिव टेकनारायण पाण्डे र संखुवासभाका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडालाई दुर्घटनामा घाइते भएकाको हेलिकप्टर प्रयोग गरेर यथाशीघ्र उद्धार गर्न निर्देशन दिएका छन् । ‘मन्त्रीबाट घाइतेको हेलिकोप्टरबाट उद्धार गर्न निर्देशन भएको छ, हामीले नेपाली सेनासँग सम्पर्क गरेर हेलिकोप्टर उद्धारका लागि पठाउने तयारी गरिरहेका छौँ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी खतिवडाका अनुसार मादीबाट धरान जान लागेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुने १४ पुगेको छ । पाँच जना सख्त घाइते छन् । घाइतेलाई घटनास्थलबाट अहिले चैनपुर लगिएको छ ।
चैनपुरबाट हेलिकप्टरमा धरान पुर्याउने तयारी भइरहेको प्रजिअ खतिवडाले जानकारी दिए । घटनास्थल जिल्ला सदरमुकामबाट ६० किलोमिटर टाढा छ । गाडी सड्कबाट ३०० मिटर तल खसेको प्रजिअ खतिवडाले जानकारी दिए । यात्रुहरू कति थिए भन्ने यकिन नभएकाले खोजी जारी नै छ ।

प्रतिक्रिया