त्रिभुवन विमानस्थलमा राखिएको श्रम डेस्क हट्यो

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाइएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई लक्षित गरेर विमानस्थलमा राखिएको श्रम डेस्क हिजोदेखि हटाइएको हो ।
श्रम डेस्कले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई दुःख दिएको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रम डेस्क हटाउन निर्देशन दिएका हुन् । श्रम डेस्क हटाउन बुधबार मन्त्री श्रेष्ठसहितका अधिकारीहरु विमानस्थल पुगेका थिए ।
मन्त्री श्रेष्ठले श्रमिकहरु श्रम डेस्कमार्फत् जाँदा प्रक्रिया झन्झटिलो भएका कारण डेस्क हटाउनु परेको बताए । अब श्रमिकहरु सहजरुपमा विमानस्थल प्रवेश गर्न सक्ने उनको भनाई छ ।
अनलाइन सूचना प्रणाली (फेमिस) आइसकेकाले श्रम डेस्क आवश्यक नभएको मन्त्रालयले जनाएको छ । विमानस्थल प्रवेश गर्ने श्रमिकहरुले अब ३ वटै प्रवेशद्वारबाट प्रवेश गर्न पाउने भएका छन् ।

प्रतिक्रिया