चुनावी तालमेलबारे कांग्रेसमा तीनथरी धारणा छ : प्रकाशमान सिंह

नेपालखोज २०७८ फागुन २७ गते ११:१६

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘घरघर जाऔं, नेपाली कांग्रेसलाई जिताऔं’ अभियानपछि मात्रै चुनावी तालमेलका बारेमा पार्टीले निर्णय गर्ने बताएका छन् । काठमाडौंको आलोक नगरमा शुक्रबार आयोजित बुथ समिति गठन कार्यक्रमा उनले एक महिने अभियानपछि मात्रै कांग्रेसले चुनावी तालमेलका बारेमा निर्णय लिने स्पष्ट पारे ।

चुनावी तालमेलका बारेमा अहिले कांग्रेसमा तीनथरी धारणा रहेको नेता सिंहले बताए । उनले भने, ‘एकथरी एक्लै जानुपर्छ, अर्कोथरी गठबन्धनलाई निरन्तरता दिनुपर्छ । एउटाले जिल्लालाई जिम्मा दिएर आवश्यकताअनुसार गर्नुपर्छ भन्छ । अभियानबाट फर्केर रिपोर्ट ल्याएपछि वर्किङ कमिटीमा के गर्दा राम्रो हुन्छ त्यो निर्णय गर्छाै ।’

सत्तारुढ पाँच दलीय गठबन्धन कांग्रेसले चाहेरमात्रै नभएको जिकिर गर्दै उनले परिस्थितिका कारणले यो गठबन्धन बनेको प्रष्ट पारे । उनले भने, ‘संविधानलाई ट्रयाकमा राखिराख्ने, यसलाई जीवन्त राख्नका लागि गठबन्धन बनेको हुनाले आवश्यकताअनुसार बनेको गठबन्धन हो ।’

प्रतिक्रिया