एमसीसी पास हुनु नेपालीका लागि खुसीको कुरा : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी नै रहेको बताएका छन् । उनले देश माओवादीकै एजेन्डामा चलिरहेकाले राष्ट्रिय राजनीति माओवादीकै इसारामा चलिरहेको दाबी गरे ।
कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका प्रचण्डले पत्रकारसँग कुरा गर्दै राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने निर्णयक भूमिकामा आफू नै रहेको बताए । अध्यक्ष प्रचण्डले अहिलेको सत्ता गठबन्धन चुनावपछिसम्म कायमै राख्ने प्रयास आफूले गरिरहेको भन्दै कम्तिमा स्थानीय चुनावमा गठबन्धन भएरै चुनाव लड्ने सुनिश्चितता रहेको समेत दावी गरे ।
तीनै तहका चुनावमा गठबन्धन गरेर त्यसपछिका सरकारमा पनि माओवादी नै निर्णायक हुने उनको भनाइ थियो । उनले भने, ‘आउँदो स्थानीय तहको निर्वाचनसम्म गठबन्धन सुरक्षित हुन्छ ।’
उनले एमसीसी पास भएपछि गठबन्धनमा कुनै खटपट नभएको बताए । उनले भने ‘गठबन्धनलाई निर्वाचनसम्म मात्र नभई त्यसपछिसम्म लैजाने हाम्रो प्रयास हो एमसीसीकै कारण देश दुर्घटनामा गएको भए धेरै चिज अफ्ठ्यारोमा पर्थे । जुन खतरा थियो त्यो खतरा अहिले टरेको छ । हामी सबै नेपालीका लागि यो खुसीको कुरा हो । यो प्रष्टसँग राख्न चाहान्छु ।’
प्रचण्डले एमसीसीका कारण आफ्नो पार्टीभित्र देखिएको समस्या समाधान भइसकेको दाबी गरे । उनले भने ‘हामीले अन्तत केन्द्रीय समितिबाट पार्टीलाई एकताबद्ध, एउटै लाइन, विचारका आधारमा निर्वाचन अभियानमा जाने र यो विषयमा भएका मतभेदलाई एउटा फोरममार्फत निष्कर्ष निकाल्ने भनेर सर्वसम्मत केन्द्रीय समितिबाट निर्णय गरेपछि यो चर्चा परिचर्चामा बाहिर थिए ती सम्पूर्ण विषयको समाधान भएको छ ।’
अध्यक्ष प्रचण्डले माओवादी केन्द्र पार्टीले पार्टीलाई एकताबद्ध गर्दै निर्वाचन अभियानको कार्यक्रम तयार पारिएकाले हाल त्यसैको अभियानमा हिँडेको बताए ।

प्रतिक्रिया