अहिलेको महंगी नेपालको नियन्त्रणमा छैन : मन्त्री झाँक्री

नेपालखोज २०७८ फागुन २७ गते १३:३०

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अहिले महंगी आफूहरुको नियन्त्रण बाहिर रहेको बताएकी छन् । नेपाल निर्माण व्यवसायी महासंघको २३ औं साधारणसभामा उनले विश्व बजारमा आएको अर्थतन्त्र मन्दीका कारण महंगी नियन्त्रण नेपालको हातमा मात्र नरहेको बताएकी हुन् ।

उनले महंगी नियन्त्रण गर्न नसकिने स्पष्ट पारिन् । उनले भनिन्, ‘आजको महंगी हाम्रो नियन्त्रणमा पनि छैन । खाडी मुलुकमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट हुँदै नेपालमा समेत पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि हुँदा र भारतीय मुद्राको अवमुल्यन हुनु र त्यसको प्रभावमा नेपालले डलरको मूल्य अत्यधिक तिर्नु पर्ने चापको कारणले महंगी बढेको हो ।’

नियन्त्रण बाहिरका माग राखेर ‘निर्माण व्यवसायी होली डे’ नमनाउन आग्रह गरेकी उनले निर्धारित समयमा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाउन आग्रह गरिन् । निर्माण व्यवसायीको माग सम्बोधन गर्दै ऐन संशोधन नगरिएको जानकारी दिएकी उनले बेलैमा आयोजना निर्माण सम्पन्न होस् भन्नका लागि एक निर्माण व्यवसायीलाई एकपटकमा पाँचवटा आयोजनामात्र दिने गरी कानुन संशोधन गरिएको बताइन् ।

प्रतिक्रिया