सात महिनामा १० खर्ब १५ अर्बको व्यापार घाटा

काठमाडौं । नेपालले वैदेशिक व्यापारबाट पछिल्लो पटक १० खर्ब १५ अर्बको व्यापार घाटा बेहोरेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्वन्धी सात महिनाको प्रतिवेदनअनुसार कुल वस्तु व्यापार घाटा ३८ दशमलव चार प्रतिशतले बढेर १० खर्ब १५ अर्ब ८१ करोड रुपैयाँ पुगेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा शून्य दशमलव सात प्रतिशतले घटेको थियो । राष्ट्र बैैंकका अनुसार समिक्षा अवधिमा निर्यात–आयात अनुपात ११ दशमलव पाँच प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ दशमलव सात प्रतिशत रहेको थियो । चालु आवको सात महिनामा कुल वस्तु निर्यातमा ८८ दशमलव तीन प्रतिशतले बढेर एक खर्ब ३१ अर्ब ६६ करोड पुगेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात सात दशमलव छ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः एक सय १३ प्रतिशत र २७ दशमलव सात प्रतिशतले बढेको देखिए पनि चीनतर्फको निर्यात भने १२ दशमलव चार प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुसलगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, जडीबुटी, तार, तामाको तारलगायतका वस्तुको निर्यात घटेको छ ।
राष्ट्र बैंकका अनुसार चालु आवको सात महिनामा कुल वस्तु आयात भने ४२ दशमलव आठ प्रतिशतले वृद्धि भई ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैैयाँ पुगेको छ । प्रतिवेदनअनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात नगन्य अर्थात् शुन्य दशमलव शुन्य एक प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३० दशमलव नौ प्रतिशत, ४२ दशमलव तीन प्रतिशत र ८३ दशमलव आठ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाई छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, कच्चा सोयाविन तेल, यातायातका साधन तथा पार्टपुर्जालगायतका वस्तुको आयात बढेको छ भने एमएस विलेट, रासायनिक मल, सिमेन्ट, दाल, मोलासिस सुगर लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्पm कन्चनपुर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा वृद्धि भएको छ । आयाततर्पm भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।
समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब २८ अर्ब १७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब चार अर्ब १३ करोड बराबरको भएको थियो ।

प्रतिक्रिया